खेलकूद

नेपालको शानदार जित, जिम्बाब्वे ९ विकेटले पराजित

हिमालय टिभी
२०७९ वैशाख २४ गते १८:४८
नेपालको शानदार जित, जिम्बाब्वे ९ विकेटले पराजित

२४ वैशाख २०७९ काठमाडौं । भ्रमणकारी टोली जम्बाब्वे ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले शनिबार ९ विकेटको शानदार जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भएको दोस्रो एक दिवसीय खेलमा नेपालले जिम्बाब्वे ‘ए’ लाई ९ विकेटले हराउँदै शृंखला बराबरी गरेको छ । जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गरेको हो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाउँदा आसिफ शेखले अविजित ३४ रन जोडे । विनोद भण्डारी ४ रनमा अविजित रहे । बलिङ तर्फ जिम्बावे ‘ए’ का ब्राण्डन माभुताले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ३१.१ ओभरमा अलआउट भएको थियो । खराब ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले सबै विकेट गुमाएर मात्र ८७ रन जोड्न सफल भएको थियो ।

नेपाली बलरको किफायती बलिङ गरेको खेलमा जिम्बावे ‘ए’ का लागि जोनाथन क्याम्पबेलले २७ रन बनाउँदा ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० तथा लुक जोग्वेले ८ रन बनाएका थिए । कसिलो बलिङ गरेको नेपालका सोमपाल कामी र करण केसीले ३÷३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए ।

यस जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । यस अघि शुक्रबार भएको पहिलो खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई ३ विकेटले हराएको थियो । यससँगै नेपालले तीन खेलको शृंखला १–१ को बराबरी समेत गरेको छ । अन्तिम तथा निर्णायक एकदिवसीय खेल सोमबार हुनेछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे ए सँग शृंखला खेलिरहेको हो । यस अघि भएको तीन खेलको ट्वान्टी–२० शृंखला १–१ को बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्