आईसीसी र्याङ्किङमा नेपाल एक स्थान तल झर्यो

२१ वैशाख २०७९ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसिसीको ट्वेन्टी–ट्वेन्टी र एक दिवसीय विश्व वरियतामा नेपाल १–१ स्थान तल झरेको छ ।
आईसिसीले आज सार्वजनिक गरेको विश्व वरियताको दुवै फरम्याटमा नेपाल १ स्थान खस्किएको हो । ट्वेन्टी–ट्वेन्टीमा यसअघि १२ औं स्थानमा रहेको नेपाल १ स्थान तल झर्दै १३ औं स्थानमा पुगेको छ ।
यससँगै वरियता आधारमा वेस्ट इन्डिज र अमेरिकामा सन् २०२४ मा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप सिधैं खेल्ने लक्ष्यमा रहेको नेपाललाई धक्का लागेको छ ।
आईसिसीको नियम अनुसार यसै वर्ष अष्ट्रेलियामा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपबाट शीर्ष ८ टोली सोझै अर्को विश्वकपमा छानिनेछ ।
त्यस्तै शीर्ष ८ बाहेक अन्य २ टोली पनि वरियताका आधारमा सोझैं विश्वकप खेल्ने प्रावधान छ । आईसीसीले यसै वर्षको नोभेम्बर १४ तारिखसम्मको वरियताका आधारमा विश्वकप छनोट गर्नेछ । यससँगै नेपाललाई अब वरियता सुधार गर्नुपर्ने दबाब छ । ट्वेन्टी–ट्वेन्टी वरियताको शीर्षस्थानमा भारत छ ।
त्यस्तै एक दिवसीयमा समेत नेपाल १ स्थान खस्किदै १९ औं स्थानमा पुगेको छ । अमेरिका १८ औं स्थानमा उक्लिँदा नेपाल १ स्थान तल झरेको हो । यस वरियतामा न्युजिल्यान्ड शीर्षस्थानमा छ ।
प्रतिक्रिया