आईपीएल टी–ट्वेन्टी क्रिकेटमा आज कोलकाता र राजस्थान भिड्दै

१९ वैशाख २०७९ काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज एक मात्रै खेल हुने भएको छ ।
आजको एक मात्रै खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईको वान्खेडे स्टेडियममा हुने यी दुई टोलीबीचको खेल साँझ ७ : ४५ मा शुरु हुनेछ ।
यसअघि हिजो भएका खेलमा लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्सले जित हात पारेका छन् । हिजो भएको पहिलो खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ६ रनले हराउँदै जित हात पारेको हो ।
वान्खेडे स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै लखनउले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ९५ रन बनायो । १ सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन मात्रै बनाउन सक्यो ।
हिजै भएको अर्को खेलमा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै जारी सिजनमा तेस्रो जित हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा जम्मा २ विकेट गुमाएर २ सय २ रन बनायो । २ सय ३ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्रै बनाउन सक्यो ।
प्रतिक्रिया