आर्थिक

चुनावको मुखमा महँगी आकासियो, मूल्यवृद्धि यो वर्ष दोहोरो अंकमा पुग्ने (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख १७ गते २१:००
चुनावको मुखमा महँगी आकासियो, मूल्यवृद्धि यो वर्ष दोहोरो अंकमा पुग्ने (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७९ काठमाडौं । मुलुक यतिबेला निर्वाचनमय छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु प्रचार–प्रसारमा व्यस्त छन् । निर्वाचनले कोभिड १९ का कारण थिलोथिलो बनेको अर्थतन्त्रलाई चलायमान त बनाएको छ नै सँगै महंगी पनि बढेको छ । केही वस्तुको बजार मूल्य अहिले नै २७ प्रतिशतसम्म बढेको छ । निर्वाचनले गर्दा आगामी दिनमा महंगी थप बढ्ने देखिन्छ ।

कोरोनाले गर्दा दुई वर्ष सुनसान जस्तै बनेको मुलुकको अर्थतन्त्र पछिल्लो समय चलयमान बन्दै गएको छ । गत वर्ष मात्रै एमालेले चितवनमा, कांग्रेस, राप्रपा र माओवादीले काठमाडौंमा महाधिवेशन गरे । यसले बजार अर्थतन्त्रलाई चलायमान बनायो ।

अहिले फेरि स्थानीय तह निर्वाचनको देशभरी नै रौनक छ । यसले अर्थतन्त्रलाई थप चलायमान त बनाएको छ नै । उपभोक्ता मूल्य पनि बढाउने देखिन्छ । विगत केही वर्षको तथ्यांकलाई हेर्ने हो भने चुनाव भएको र त्यसपछिको वर्ष महंगी बढेको देखिन्छ ।

अहिले नै उपभोक्ता मूल्य ७ दशमलव १२ प्रतिशत छ । दाल तथा गेडागुडी, तरकारी, तेल लगायतको बस्तुको मूल्य त २६ प्रतिशतसम्म बढेको छ । निर्वाचनका कारण बजारमा पैसाको सहज प्रवाहले माग बढ्छ । तर त्यो अनुपातमा उत्पादन नबढ्दा मूल्य बढ्छ ।

२०७४ मा निर्वाचन हुँदा मूल्य वृद्धि ४ दशमलव २ प्रतिशत थियो । त्यसको अर्को वर्ष ४ दशमलव ६ प्रतिशत पुग्यो । नेपाल राष्ट्र बैंकका अनुसार त्यसअघि २०७० मा निर्वाचन हुँदा मूल्य वृद्धि ९ दशमलव १ प्रतिशत पुगेको थियो ।

२०६४ मा संविधान सभाको निर्वाचन भएको वर्ष ५ दशमलव १ प्रतिशत र त्यसको अर्को वर्ष १२ दशमलव १ प्रतिशत पुग्यो । निर्वाचन आयोगले उम्मेदवारहरुलाई खर्चको सिमा तोके पनि सिमाभन्दा बढी खर्च गर्ने गरेका छन् । उद्योगी, व्यापारीसँगचन्दा उठाएर उम्मेदवारहरुले मनोमानी खर्च गर्दाको प्रभाव उपभोक्ता मूल्यमा पर्छ । अहिले नै ७ प्रतिशत रहेको मूल्य वृद्धि यो वर्ष दोहोरो अंकमा पुग्ने अनुमान हुनथालेको छ ।

राजनीतिक दलहरुले गर्ने खर्च पारदर्शी नहुने र यसको कुनै लिखित तथ्यांक नहुने हुँदा वास्तविक खर्चको विवरण प्राप्त हुन नसके पनि अर्बौं खर्च हुने विगतका निर्वाचनलाई हेरेर अनुमान लगाउन सकिन्छ । यसले शहरदेखि ग्रामिण इलाकासम्मको अर्थतन्त्रलाई चलायमान त बनाउछन् नै सँगै मूल्य वृद्धि र भूमिगत अर्थतन्त्र समेत मौलाउने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *