खेलकूद
म्यानचेष्टर सिटी प्रिमियर लीग फूटबलको शीर्ष स्थानमा
२०७९ वैशाख ८ गते ७:४४

८ वैशाख २०७९ काठमाडौं । म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लीग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रिमियर लीग अन्तर्गत गएराति ब्राइटनमाथि ३–० को जित निकाल्दै सिटी पुनः शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीको जितमा रियाद महरेज, फिल फोडेन र बेरनारडो सिल्वाले एक(एक गोल गरेका थिए ।
महरेजको गोलसँगै सिटीले ५३औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि उसका लागि ६५औं मिनेटमा फोडेन र ८२औं मिनेटमा सिल्वाले गोल थप्न सफल भए ।
जितसँगै सिटीले ३२ खेलबाट ७७ अंक जोडेको छ । उता दोस्रो स्थानको लिभरपुलको समान खेलबाट ७६ अंक छ ।
प्रिमियर लीगकै अन्य खेलमा आर्सनलले चेल्सीलाई ४–२ र न्यूक्यासल युनाइटेडले क्रिष्टल प्यालेसलाई १–० ले हराउँदा एभर्टन र लेष्टर सिटी १–१ गोलको बराबरीमा रोकिए ।
प्रतिक्रिया