खेलकूद

आईपीएलमा राजस्थानको तेस्रो जित, शीर्ष स्थानको कोलकाता दिल्लीसँग पराजित

हिमालय टिभी
२०७८ चैत २८ गते ७:३२
आईपीएलमा राजस्थानको तेस्रो जित, शीर्ष स्थानको कोलकाता दिल्लीसँग पराजित

२८ चैत २०७८ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ ।

मुम्बईमा गएराति लखनउ सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । लखनउका क्विन्टन डी ककले ३९ रन र दिपक होडाले २५ रन जोडे ।

राजस्थानका युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो । राजस्थानका लागि शिम्रन हिटमायरले ५९ रनको अर्धशतकीय इनिङस् खेले ।

लखनउका जासन होल्डर र कृष्नपा गोथामले २–२ विकेट लिए । जितसँगै ४ खेलमा ६ अंक जोडेको राजस्थान शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा ६ अंक नै जोडेको लखनउ पाँचौं स्थानमा रहेको छ ।

आईपीएल अन्तर्गत हिजै भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले शीर्ष स्थानको कोलकातानाइट राइडर्सलाई ४४ रनले हराएको छ । दिल्लीले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७१ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि कप्तान श्रेयस एयरले ५४ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । दिल्लीका कुलदिप यादवले ४ तथा खलिल अहमेदले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २ सय १५ रन जोडेको थियो । दिल्लीका डेभिड वार्नरले ६१ रनको अर्धशतकीय इनिङ खेल्दा पृथ्वी शले ५१ रनको अर्धशतकीय इनिङस् खेले । कोलकाताका सुनिल नारिनेले २ विकेट लिए ।

जितसँगै ४ खेलमा ४ अंक जोडेको दिल्ली छैटौं स्थानमा छ । कोलकत्ता ५ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्