किसानलाई चियाको मुना टिप्ने चटारो (भिडियो रिपोर्टसहित)

२७ चैत २०७८ इलाम । गुणस्तरको हिसाबले सबैभन्दा अब्बल मानिने चियाको पहिलो टिपाई अर्थात फर्स्ट फ्लस शुरु भएको छ । यो सिजनमा उत्पादन हुने चियाको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । अहिले इलामको चिया बगानमा किसानलाई चियाको मुना टिप्ने चटारो छ ।
इलामका चिया बगानमा यतिखेर किसानलाई चिया टिप्न भ्याइनभ्याई छ । गुणस्तरको हिसाबले अब्बल मानिने र यो सिजनको चियाको मूल्य पनि उच्च हुने हुँदा किसानको दैनिकी अहिले बगानमै बित्छ ।
‘फस्ट फल्स’ चिया अन्य सिजनभन्दा गुणस्तरीय मानिन्छ । दुई पात एक सुइरो भएको चिया सबैभन्दा राम्रो मानिन्छ । चियाको टिपाई शुरु भएसँगै जिल्लाका चिया कारखानाले प्रशोधनको तयारीसमेत थालेको छ ।
फस्ट फ्लसको सिजन फागुन तेस्रो सातादेखि चैत दोस्रो सातासम्ममा शुरु हुन्छ । पहाडी जिल्लामा उत्पादन हुने गरेको उच्च गुणस्तरीय अर्गानिक अर्थोडक्स चिया जर्मनी, फ्रान्स, अमेरिका, चीन, रुस, जापान, नेदरल्यान्डलगायत दर्जनौं मुलुकमा निर्यात हुन्छ । फस्ट फ्लस चिया उत्पादन शुरु भएर काराखानाले पनि प्रशोधन थालेर अन्तर्राष्ट्रिय बजारमा नमूना पठाउन तयारी गरीरहेको छ ।
इलाम, पाँचथर र धनकुटाबाट ठूलो परिमाणको अर्गानिक अर्थोडक्स चिया तेस्रो मुलुक निर्यात हुन्छ । उद्योगहरूले किसानलाई हरियोपत्तिको सबैभन्दा बढी मूल्य दिने बेला पनि फस्ट फ्लस नै हो । तर कारखानाले चियाको मूल्य निर्धारण भने गरेका छैन्न । कारखाना पिच्छे नै फरक फरक मूल्य छ ।
चियाको राजधानी मानिने इलाममा साना ठूला तथा सरकारी र निजि गरेर एक सय १० वटा चिया कारखाना सञ्चालनमा छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार इलाममा ५ हजार ५ सय ८२ साना किसान छन् भने ६४ प्रतिशत चिया किसानको मुख्य आम्दानी नै यसैबाट भइरहेको छ ।
प्रतिक्रिया