आर्थिक

पर्यटकको संख्या बढ्दै, होटल–रेष्टुरेन्टमा भने कामदार अभाव (भिडियो रिपोर्टसहित)

२०७८ चैत २६ गते २०:१६
पर्यटकको संख्या बढ्दै, होटल–रेष्टुरेन्टमा भने कामदार अभाव (भिडियो रिपोर्टसहित)

२६ चैत २०७८ पोखरा । पोखरामा विस्तारै पर्यटकको संख्या बढ्दैछ । तर, कोरोना संक्रमण शुरु हुँदा रोजगारी गुमाएका होटल तथा रेष्टुरेन्टका कामदार नफर्कँदा समस्या भएको छ ।

पोखराको होटलमा रोजगारी गर्दै आएका कुलबहादुर आलेमगर । कोरोना संक्रमण अगाडि उहाँसँग ६ जना सहकर्मी थिए । तर, अहिले ३ जना मात्र छन् । कोरोना संक्रमणका समयमा घर गएका कुलबहादुरका साथीहरु फेरि काममा फर्केनन् । कोही विदेश भासिए भने कोही गाउँमै कुटो(कोदालोमा रमाए ।

कोरोना महामारी शुरु भएपछि पर्यटन क्षेत्र प्रभावित बन्यो । लकडाउनका समयमा केही होटल रेष्टुरेन्ट बन्द भए । कतिपय कर्मचारीले रोजगारी गुमाए । रोजगारी गुमाएका कामदार फेरि फर्केर नआएपछि अहिले होटल व्यवसायीलाई पनि कामदारको अभाव भएको छ ।

पोखराको लेकसाइड र ड्यामसाइड क्षेत्रमा मात्रै ७ सय होटल छन् भने समग्र पोखराभरी १ हजार २ सय वटा होटल र तीन सयभन्दा बढी रेष्टुरेण्ट सञ्चालनमा छन् । ती होटल तथा रेष्टुरेण्टमा करिब १५ हजारको हाराहारीमा कामदार थिए । तर अहिले होटलहरुमा कामदारको संख्या जम्मा ५ हजार मात्र छ ।

पोखराका होटलमा अहिले भारतीय पर्यटकले बढी मात्रामा बुकिङ गर्ने गरेका छन् । कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने विदेशी पर्यटकलाई क्वारन्टिनमा बस्न नपर्ने भएकाले पनि पर्यटकको संख्या अहिले सुधारिएको छ । तर अब विस्तारै तंग्रिन थालेको यो व्यवसायमा दक्ष कामदारको भने अभाव हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *