आर्थिक

भेरी–बबई डाइभर्सनको आयोजनाको काम ५३ प्रतिशत पूरा (भिडियो रिपोर्टसहित)

२०७८ चैत २५ गते १८:३८
भेरी–बबई डाइभर्सनको आयोजनाको काम ५३ प्रतिशत पूरा (भिडियो रिपोर्टसहित)

२५ चैत २०७८ सुर्खेत । सुर्खेतमा निर्माण भइरहेको भेरी–बबई डाइभर्सन राष्ट्रिय गौरवको आयोजना हो । लक्ष्य अगावै सुरुङ निर्माण गरेर चर्चा कमाएको यो आयोजनाको ५३ प्रतिशत काम सम्पन्न भएको छ । हाल चिप्लेस्थित भेरी नदी किनारमा बाँध र हात्तीखालमा विद्युत गृहको काम भैरहेको छ ।

बाह्रै महिना सिँचाई सुविधा पुर्‍याउने र विद्युत उत्पादन गर्ने लक्ष्य राखेको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजना निर्माणको काम भैरहेको छ । आर्थिक वर्ष २०७१–७२ देखि निर्माण थालिएको आयोजना २०७९–०८० मा सम्पन्न गर्ने जलस्रोत तथा सिँचाई विभागको लक्ष्य छ ।

नेपालमा पहिलो पटक टनेल बोरिङ्ग मेशिन (टिविएम)मार्फत लक्ष्य अगावै सुरुङ निर्माण गरेर चर्चा कमाएको आयोजनामा हाल बाँध तथा पावरहाउस निर्माणको काम भइरहेको छ ।

भेरी नदीको चिप्लेमा एक सय १४ मिटर लामो ब्यारेजसहित एक सय ५८ मिटर डिसेन्डिङ बेसिन र टनेल इन्ट्री पोर्टलको निर्माण भइरहेको छ । पोर्टलमा चार वटा ढोका हुनेछन् भने भेरी नदीमा पुल बनाइनेछ ।

दोस्रो चरणमा २०८० साउनभित्र बाँध निर्माण सक्ने गरी रमण ग्वाङ्डोन जेभीले जिम्मा लिएको छ। ३६ अर्ब ८० करोड लागत रहेको आयोजनाको भौतिक प्रगति फागुन मसान्तसम्ममा ५३ प्रतिशत छ । आयोजनाबाट लुम्बिनी प्रदेशका बाँके, बर्दियाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् भने, कर्णाली प्रदेशको पर्यटकिय संभावना बढ्ने बताइएको छ ।

आयोजना सकिएपछि १२ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर पानी भेरी नदीबाट बबई नदीमा खसालिनेछ । उक्त पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यस्तै एक सय ५२ मिटर लामो हेडको प्रयोगबाट ४६।८ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *