आर्थिक

मुगुका महिलाले सुरु गरे च्याउ खेती (भिडियो रिपोर्टसहित)

२०७८ चैत २३ गते १४:३७
मुगुका महिलाले सुरु गरे च्याउ खेती (भिडियो रिपोर्टसहित)

२३ चैत २०७८ मुगु । परम्परागत रुपमा गरिएका कृषिले जिविकोपार्जन गर्नै मुस्किल हुन थालेपछि अहिले देशका धेरै किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ मा महिलाले समूह नै बनाएर च्याउ खेती शुरु गरेका छन् । नयाँ कृषिकर्मबाट आत्मनिर्भर हुन सहज हुने अपेक्षा समूहमा आबद्ध महिलाले गरेका छन् ।

परम्परागत कृषिकर्म गर्दै आएका मुगुको छायाँनाथ रारा नगरपालिका बालैका महिलाहरु अहिले सामूहिक च्याउखेतीमा लागेका छन् । यसअघि अन्न खेती गरिरहेका उनीहरुलाई आम्दानीले घरखर्चमा ठिक्क हुन्थ्यो । च्याउ खेतीबाट अतिरिक्त आम्दानी हुने उनीहरुको आश छ । सँगसँगै यसअघि लगाउँदै आएको बालीलाई पनि निरन्तरता दिँदै आएका छन् ।

अहिले मुगुमा च्याउको मूल्य प्रतिकिलो पाँच सय रुपैयाँ छ । भर्खरै शुरु गरेको च्याउको उत्पादन कस्तो हुने हो, उनीहरुलाई थाहा छैन । तर, च्याउको राम्रो बजार देखेर उत्साहित छन् । त्यसैको आशामा मेहनतमा कुनै कमी गरेका छैनन् ।

महिलाको क्षमता विकासका लागि सहास नेपाल नामक संस्थाले ४० जना महिलालाई ३ दिनको तालिम दिएपछि उनीहरु झन् हौसिएका छन् ।

मुगुको हावापानी च्याउका लागि उपयुक्त छ । प्राविधिक दृष्टिले मुगुमा च्याउ खेती गर्न फागुनदेखि भदौसम्मको समय ठिक हुने विज्ञको भनाइ छ । आयआर्जनका लागि महिला एकताको सबैले प्रशंसा गरेका छन् । यसलाई निरन्तरता दिन सके उनीहरुको यो प्रयास धेरैका लागि प्रेरणाको स्रोत समेत बन्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *