आर्थिक

रुरुको खुँदो अब विदेशमा पनि निर्यात (भिडियों रिपोर्टसहित)

२०७८ चैत २२ गते २०:५२
रुरुको खुँदो अब विदेशमा पनि निर्यात (भिडियों रिपोर्टसहित)

२२ चैत २०७८ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका र रुरुक्षेत्र गाउँपालिका सख्खर र खुँदोका लागि प्रख्यात छ । वर्षौदेखि देशभित्र मात्रै माग हुने सख्खर र खुँदो अब विदेशमा समेत निर्यात हुन थालेको छ ।

गुल्मीको छत्रकोट गाउँपालिकाका नीलकण्ठ न्यौपानेको घर नजिकै पुग्दा उखु पेलेर बनाइने खुँदो र सख्खर मगमग बास्ना आउँछ ।

पहिले न्यौपानेका बुबाआमाले खुँदो र सख्खर बनाउनु हुन्थ्यो । यसको सिको गर्दै नीलकण्ठले पनि खुँदो र सख्खर बनाउन थालेको ३० वर्ष पुगिसकेको छ ।

पहिले पहिले गोरु लगाएर कोलमा उखु पेल्ने चलन थियो । गोरु लगाएर काम गर्दा समय र जनशक्ति धेरै लाग्थ्यो । न्यौपानेले भने आधुनिक प्रविधि प्रयोग गरेर सख्खर र खुँदो उत्पादन शुरु गर्नुभएको छ । फर्ममा अहिले २० जनाले प्रत्यक्ष रोजगार समेत पाएका छन् ।

न्यौपानेको फर्ममा उत्पादित खुँदो र सख्खर गुल्मीसहित विभिन्न जिल्लामा माग छ । अहिले त विदेशमा पनि यसको माग बढ्न थालेको छ।

गुल्मीमा हाल ८ सय हेक्टरमा उखु खेती भैरहेको छ । उखुबाट किसानले आम्दानी गर्न थालेसँगै कृषि ज्ञान केन्द्रले उखु पकेट क्षेत्र बनाउने तयारीसमेत गरेको छ ।

गुल्मीको छत्रकोट र रुरुक्षेत्र गाउँपालिका उखु पकेट क्षेत्र हुन् । उखुका कारण छत्रकोट र रुरुक्षेत्रका बासिन्दाको जीवन पनि गुलियो बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *