आईपीएलमा कोलकाताको दोस्रो जित
१९ चैत २०७८ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले दोस्रो जित निकालेको छ ।
आईपीएलमा गएराति कोलकाताले पञ्जाब किंग्सलाई ६ विकेटले हरायो । १३८ रनको लक्ष्य कोलकाताले ३३ बल अगावै मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो । कोलकाताको जितमा आन्द्रे रसेलले नटआउट ७० रनको अर्धशतकीय इनिंग्स खेले ।
त्यस्तै कप्तान श्रीयस अइयरले २६ रन जोड्दा साम बिलिंग्स २४ रनमा अविजित रहे । पञ्जाबका राहुल चहरले २ विकेट लिए ।
यसअघि मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको पञ्जाब १८ दशमलव २ ओभरमा १३७ रनमा अलआउट भएको थियो । उसका लागि भानुका राजापाक्षाले ३१ तथा काशिगो रबाडाले २५ रन बनाए ।
बलिङतर्फ कोलकाताका उमेश यादवले ४ तथा टीम साउथीले दुई विकेट हात पारे ।
आज मुम्बई इण्डियन्स र राजस्थान रोयल्स तथा गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया