आर्थिक

व्यापार सन्धी पुनरावलोकन गर्न सुझाव (भिडियो रिपोर्टसहित)

२०७८ चैत १८ गते २०:५९
व्यापार सन्धी पुनरावलोकन गर्न सुझाव (भिडियो रिपोर्टसहित)

१८ चैत २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला दुई देशबीचको व्यापार, पारवहन र लगानी प्रवर्द्धनमा जोड दिनुपर्ने बताइएको छ। त्यसका लागि प्रमुख व्यापारिक साझेदार भारतसँगको व्यापार सन्धी पुनरावलोकन र भारतलाई दिँदै आएको भन्साररहित सुविधा हटाउन पहल गर्न विज्ञको सुझाव छ ।

नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक छ । त्यसमा पनि दुई देशबीचको आर्थिक सम्बन्ध अझ मजबुत छ । नेपालमा हुने कुल आयातको ६२ प्रतिशत हिस्सा भारतको छ । लगानीका हिसाबले पनि भारत दोस्रो ठूलो मुलुक हो ।

प्रधानमन्त्री देउवाको भ्रमणमा भारतसँगको वाणिज्य सन्धी परिमार्जनको विषय पनि उठान गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । व्यापार सन्धीमा भएका कमिकमजोरीहरुलाई हटाउँदै नवीकरणका लागि छलफल गर्नुपर्ने विज्ञको सुझाव छ । दुईदेशबीचको व्यापार सन्धी सन् २०२३ मा नवीकरण गर्नुपर्नेछ ।

भारतसँगको व्यापार घाटा कम गर्न पनि वाणिज्य सन्धी सुधार गर्दै नयाँ सन्धी गर्नुपर्ने आवश्यकता औल्याइएको छ । भारतबाट बार्षिक अबौं रुपैयाँको कृषिजन्य बस्तु आयात हुन्छ ।

ती वस्तु भारतले नेपालतर्फ निर्यात गर्दा लिइरहेको भन्साररहित सुविधा हटाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्नुपर्ने सुझाव छ । हाल भारतले खाद्यन्न, फलफूल, तरकारीमा भन्साररहित सुविधा पाइरहेको छ।

गत आर्थिक वर्षमा भारतसँगको व्यापारघाटा ८ खर्ब ६५ अर्ब रुपैयाँ थियो भने चालू आर्थिक वर्षको ८ महिनामै ६ खर्ब रुपैयाँ व्यापारघाटा नाघिसकेको छ।

भारतले नेपालको ल्यावमा गरेको परीक्षणलाई मान्यता नदिँदा यहाँको उत्पादन सहज रुपमा निर्यात हुन सकेको छैन। त्यसकारण नेपाली उत्पादनको निर्यात बढाउन पनि व्यापारमा रहेको अवरोधलाई हटाउन प्रधानमन्त्री देउवाले पहल गर्नुपर्नेमा सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *