खेलकूद

त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलामा नेपाल विजयी, मलेसिया ६ विकेटले पराजित

हिमालय टिभी
२०७८ चैत १६ गते १५:२१
त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलामा नेपाल विजयी, मलेसिया ६ विकेटले पराजित

१६ चैत २०७८ काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आशिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दा नेपालले मलेसियालाई सहजै हरायो । टस जितेर ब्याटिङ गरेको मलेसियाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १४ रन बनाएको थियो ।

पहिलो बलमै भरपर्दा ब्याटर विरानदिप सिंहलाई गुमाएको मलेसियाका लागि जुबाइदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए । कप्तान अहमद फाइजले २४, मोहम्मद आमिरले १६ र सइद अजिजले १४ रन बनाए ।

बलिङतर्फ करण केसी र सन्दिप लामिछानेले दुई दुई विकेट लिए भने अविनाश बोहरा, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीले एक एक विकेट हात पारे ।

एक सय १५ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि आशिफ शेखले ३८ बलमा सात चौका र एक छक्काको सहयोगमा ५७ रन बनाउँदै जितको आधार खडा गरेका थिए । दीपेन्द्र सिंह ऐरीले पनि २१ रन बनाए ।

दुबै खेलमा जित हात पार्दै नेपालले चार अंक जोडेको छ । एकमा जित र एकमा हार व्यहोरेको मलेसियाको २ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्