आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको विजयी शुरुवात
१६ चैत २०७८ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी शुरूवात गरेको छ ।
आईपीएल अन्तर्गत गएराति राजस्थानले सनराइजर्स हैदराबादमाथि ६१ रनको जित निकालेको हो । २११ रनको लक्ष्यसहित मैदान ओर्लेको हैदराबादले ७ विकेट गुमाएर १४९ रनमात्र बनाउन सक्यो ।
हैदराबादका एडियन मारक्रमले अविजित ५७ रन बनाए । त्यस्तै वासिंङटन सुन्दरले ४० रन जोड्दा रोमारियो शेफर्ड २४ रनमा आउट भए ।
बलिङमा राजस्थानका युजभेन्द्र चहेलले तीन तथा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णाले समान २(२ विकेट लिए ।
यसअघि पुनेमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा २१० रन बनाएको थियो । उसका लागि कप्तान सञ्जु श्यामसनले ५५ रनको अर्धशतकीय इनिंग्स खेले ।
त्यस्तै देवीदत्त पडीक्कलले ४१, जोश बट्लरले ३५ तथा सिमरोन हेट्मेयरले ३२ रन जोडे । हैदराबादका उमरन मलिक र टी नटराजनले समान दुई(दुई हात पारे ।
प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेञ्जर्स बेंग्लोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया