खेलकूद

त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पीएनजीविरुद्ध नेपाल १५ रनले विजयी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १४ गते १६:५८
त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पीएनजीविरुद्ध नेपाल १५ रनले विजयी (भिडियो रिपोर्टसहित)

१४ चैत २०७८ काठमाडौं । पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले हराउँदै नेपालले त्रिकोणात्मक ट्वेन्टी,ट्वेन्टी सिरिजमा विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको सिरिजको पहिलो खेलमा नेपालले पीएनजीमाथि रोमाञ्चक जित निकालेको हो । १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा १ सय ६८ रनमा अलआउट भयो ।

पावर प्लेमै ३ विकेट गुमाएपछि दबाबमा परेको पीएनजीले १३ औं ओभरमा १ सय रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो । तर मध्ये क्रममा नर्मन भानुवा र चाड शोपरले ६७ रनको साझेदारी गर्दै पिएनजीलाई जित नजिक लगे । तर तर १९ औं ओभरको पाँचौं बलमा तीव्र गतिका बलर करण केसीले नर्मनलाई एलबिडब्लु आउट गर्दै नेपाललाई खेलमा फर्काए ।

भानुवाले २९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५२ रनको आक्रामक पाली खेले । लगतै अर्को बलमा विकेटकिपर शिमोन आतीलाई लङअफमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट क्याच लिएपछि खेल नेपालको पक्षमा गएको थियो ।

अन्तिम ६ बलमा पिएनजीलाई जितका लागि १७ रन आवश्यक थियो । तर अन्तिम ओभरको पहिलो बलमा १ रन दिएपनि दोस्रो बलमा एली नाओलाई रन आउट गर्दै जित पक्का गर्यो । नेपालका लागि करण केसी र सन्दीप लामिछानेले ३–३, अभिनाश बोहोराले २ र सोमपाल कामीले १ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । तेस्रो ओभरमा ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भएपनि अर्का ओपनर आशिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गर्दै नेपालको पाली उकासे ।

तर ३५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाएका आशिफ १२ औं ओभरमा एली नाओको बलमा एज लागेर विकेटकिपर शिमोन आतीबाट क्याच भए । लगतै अर्को ओभरमा रोहित पनि ३४ रन बनाएर आउट भए ।

मध्येक्रममा लगातार विकेट गुमाएको नेपालका लागि तल्लोक्रममा करणले ७ बलमा १४ रन बनाउँदै नेपाललाई सम्मानजनक स्थितिमा पुर्‍याए । बलिङमा एली नाओ, चाद शोपर र चाल्र्स अमिनीले २–२ विकेट लिए । नर्मन भानुआ र राइली हेकुरेको नाममा १–१ विकेट लिए । सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले बुधबार मलेसियासँग खेल्नेछ । भोिल भने मलेसिया र पीएनजीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *