खेलकूद

रोहित पौडेलका नाममा आजै मात्र चार कीर्तिमान

२०७८ चैत ११ गते १९:०३
रोहित पौडेलका नाममा आजै मात्र चार कीर्तिमान

११ चैत २०७८ काठमाडौं । पीएनजीविरुद्ध सिरिजको पहिलो खेल हारेपनि युवा ब्याटर रोहित पौडेलका लागि यो खेल विशेष रह्यो ।

खेलमा नेपालका कुनै पनि ब्याटर चल्न नसकिरहेको अवस्थामा रोहितले शतकीय पाली खेले । ९१ बलमा आफ्नो करिअरकै पहिलो अन्तर्राष्ट्रिय शतक बनाएका उनी एक दिवसियमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने ।

सुरुवाती ४ ब्याटरहरु सस्तैमा आउट हुँदा १२ ओभर ३ बलमा नेपालको खातामा ७३ रन मात्र थियो । २ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालबाट खेल टाढा गएको अवस्थामा पाली सम्हाल्न आएका युवा ब्याटर रोहित पौडेल दशौं ओभरको दोस्रो बलमा क्रिजमा आए ।

पहिलो बलमा नर्मन भानुआलाई १ रन प्रहार गरेका रोहितले सुस्त सुरुवात गरेपनि सुरुवाती २० रन जोडेरएक दिवसियमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटरका रुपमा कीर्तिमान बनाए । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई पछि पार्दै रोहित एक दिवसियमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याटर बनेका हुन् । उनी भन्दा तल रहेका ज्ञानेन्द्रले १९ खेलबाट ४ सय ८० रन र १० खेल खेलेका पारसले ३ सय १५ रन बनाएका छन् ।

पछिल्लो समय लयमा देखिएका रोहितले ५४ बलमा ३ चौका र १ छक्का सहित ५० रन बनाउँदै कीर्तिमानी अर्धशतक पुरा गरे । सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध एक दिवसिय मार्फत् राष्ट्रिय टोलीमा डेब्यु गरेका रोहितको यो करिअरको पाँचौं अर्धशतक हो । रोहित एक दिवसियमा पाँच अर्धशतक बनाउने पहिलो नेपाली ब्याटर समेत बने । एक दिवसियमा राष्ट्रिय टोलीका लागि १४ क्याप जितेका रोहितपछि ज्ञानेन्द्र मल्लले ४ अर्धशतक प्रहार गरेका छन् ।

पिएनजीविरुद्ध विष्फोट पाली खेल्दै रोहितले ९१ बलमा ७ चौका र २ छक्कासहित शतक पुरा गरे । यससँगै एक दिवसियमा शतक बनाउने उनी दोस्रो नेपाली खेलाडी बने । ४० औं ओभरको पाँचौं बलमा भानुआकै बलमा फेरी १ रन जोड्दै रोहितले शतक पुरा गरेका हुन् ।

यसअघि सन् २०१९ मा युएईविरुद्ध तेस्रो एक दिवसियमा पारस खड्काले १ सय १५ रनको शतकीय पाली खेलेका थिए । नेपाललाई जित उन्मुख बनाएका रोहित ४६ औं ओभरको दोस्रो बलमा १ सय २६ रन बनाएर आउट भए । खेलको पहिलो बल र शतक बनाउने क्रममा सामना गरेका उनै नर्मन भानुआको बलमा लामो सट खेल्ने क्रममा रोहितलाई मिड विकेटमा अमिनीले एक हातले उत्कृष्ट क्याच लिँदै पेभेलियन फर्काए ।

यस खेलमा रोहित र आरिफ शेखको नाममा सर्वाधिक साझेदारीको कीर्तिमान पनि बन्यो । पाँचौं विकेटका लागि आरिफ र रोहितले गरेको १ सय ४ रनको शतकीय साझेदारी एक दिवसियमा नेपालले कुनैपनि विकेटका लागि गरेको सर्वाधिक ठुलो साझेदारी हो । यसअघि पिएनजीसँगै पाँचौं विकेटकै लागी नेपालले १ सय रनको शतकीय साझेदारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्