खेलकूद

विश्वकप लीग–२ त्रिकोणात्मक क्रिकेटमा नेपाल यूएईसँग ४८ रनले पराजित

हिमालय टिभी
२०७८ चैत ४ गते १७:५२
विश्वकप लीग–२ त्रिकोणात्मक क्रिकेटमा नेपाल यूएईसँग ४८ रनले पराजित

४ चैत २०७८ काठमाडौं । उत्कृष्ट बलिङका बाबजुद ब्याटिङ चल्न नसक्दा आईसीसी विश्व क्रिकेट लीग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल घरेलु टोली यूएईसँग पराजित भएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सिरिजको दोस्रो खेलमा नेपाल ४८ रनले पराजित भएको हो । १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा १ सय २० रन बनाउँदै अलआउट भयो । परम्परागत कमजोरीका रुपमा रहेको नेपालको ब्याटिङ यस खेलमा पनि देखियो ।

सुस्त सुरुवात गरेको नेपालले पाँचौं ओभरमा दुवै ओपनर कुशल भुर्तेल ११ रन र आशिफ शेख ७ रनमा जुनाई शिद्धिकीबाट गुमायो । नवौं ओभरमा भरपर्दा ब्याटर दीपेन्द्र सिंह ऐरी पनि ४ रन बनाएर आउट हुँदा ३ विकेटको क्षतिमा नेपालको खातामा २७ रन मात्र थियो ।

ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले चौथो विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्‍याए । तर २३ औं ओभरमा ज्ञानेन्द्र २८ रन बनाएर आउट भएसँगै नेपाल फेरि दबाबमा पर्‍यो । रोहितले सर्वाधिक ४६ रन बनाउँदा तल्लो क्रमका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालविरुद्ध जित निकाल्ने क्रममा यूएईका बसिल हमिदले ५ ओभरमा १ मेडन राख्दै ४ विकेट लिए । जुनाई शिद्धिकीले ७ ओभर १ बलमा १ मेडनसहित १८ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै, जहुर खान र रोहन मुस्तफाले १–१ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६८ रन मात्र बनायो । शान्दार प्रदर्शन गरिरहेको नेपाली बलरले यूएईलाई सुरुवातदेखीनै दबाबमा राख्न सफल भयो ।

उसको ओपनर चिराग सुरी चौथो ओभरमा ६ रन बनाएर आउट हुँदा अर्का महत्वपूर्ण ब्याटर वृत्य अरविन्द पनि छैंटौं ओभरमा ३ रनमा पेभेलियन फर्किए । १० औं ओभरको पहिलो बलमा अर्का ओपनर मोहमद वासिम २१ रनमा आउट भए ।

सुरुवाती तीनैजना ब्याटर तीव्र गतिका बलर सोमपाल कामीको शिकार भएका थिए । पावर प्लेमै ३ विकेट गुमाएको युएईको खातामा एक समय ४ विकेट गुमाउँदा मात्र ३५ रन थियो । तर रिजवान र रोहन मुस्तफाले पाँचौं विकेटका लागि ७७ रनको साझेदारी गरे । ४० रन बनाएर युएईको पाली सम्हालिरहेका रिजवानलाई कप्तान सन्दीप लामिछानेले आशिफ शेखबाट क्याच गराए ।

रोहन मुस्तफा पनि ४० रनमै आउट हुँदा युएईको ब्याटिङ पुनः धर्मराएको थियो । त्यसपछिका कुनै पनि ब्याटरले युएईलाई विशाल योगफल दिलाउन सकेनन् ।

यूएईलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चिएर ४ विकेट लिए । अर्का तीव्र गतिका बलर करण केसीले ७ ओभर ३ बलमा १ मेडन सहित १६ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र सागर ढकालको नाममा समान १–१ विकेट रह्यो ।

यो जितसँगै यूएई १६ खेलबाट २० अंक जोड्दै दोस्रो स्थानमा यथावत छ । १० खेलमा ५ हार व्यहोरेको नेपाल पुछारबाट दोस्रो स्थानमा छ । सिरिजको तेस्रो खेलमा नेपालले सोमबार फेरी युएईसँगै खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्