खेलकूद

नेपाल श्रीलङ्का संयुक्त–११ सँग पराजित

हिमालय टिभी
२०७८ फागुन २७ गते १८:४६
नेपाल श्रीलङ्का संयुक्त–११ सँग पराजित

२७ फागुन २०७८ काठमाडौं । श्रीलङ्का भ्रमणमा रहेको नेपाल आफ्नो चौथो तथा अन्तिम अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित भएको छ ।

श्रीलङ्काको संयुक्त–११ ले दिएको २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १४० रनमा समेटियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ६२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

त्यस्तै कुशल भुर्तेलले ३२ रन बनाउँदा रोहितकुमार पौडेलले २१ रनको योगदान गरे । आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दीपेन्द्रसिंह ऐरीले २ रन जोडे भने विनोद भण्डारी र सागर ढकालले समान १/१ रन बनाए । श्रीलङ्का संयुक्त–११ का एस दक्सिनाले ३ तथा दिलसान मुनविराले २ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्का संयुक्त–११ ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको थियो । संयुक्त–११ का लागि अनुक फर्नान्डोले सर्वाधिक ५६ रन बनाए भने सान्दुन विराक्कोडीले ४९ रन जोडे ।

दिलसान मुनाविराले १४, उपुल थरङ्गाले ३ , थिसेरा परेराले ८ रन जोडे । चमारा सिल्भा ६ र तथा निसन्था १८ रनमा आउट भए । कुमारस्वामी ३० र दिलरुवान परेरा १४ रनमा आउट भए । नेपालका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान ३/३ विकेट लिए । सोमपाल कामीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

नेपालले यसअघि खेलेको तीन अभ्यास खेलमा जित हात पारेको थियो । नेपालले पहिलो अभ्यास खेलमा श्रीलङ्का नेभी स्पोर्ट्स क्लबलाई १११ रन र दोस्रो खेलमा नेभीलाई नै ८२ रनले पराजित गरेको थियो । त्यस्तै हिजो भएको तेस्रो अभ्यास खेलमा नेपालले श्रीलङ्का पुलिसलाई १४४ रनले पराजित गरेको थियो ।

यस खेलसँगै नेपालको श्रीलङ्का भ्रमण समाप्त भएको छ । आइसिसी विश्वकप लिग २ अन्तर्गत युएई र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्नका लागि नेपाली टोली यही फागुन ३० गते संयुक्त अरब इमिरेट्स (युएई) जानेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्