आर्थिक

विदेशबाट फर्किएका युवा कृषि पेशामा

हिमालय टिभी
२०७८ फागुन २० गते १३:५६
विदेशबाट फर्किएका युवा कृषि पेशामा

२० फागुन २०७८ नवलपुर । लामो समयसम्म विदेशी भूमिमा बसेर सिकेका सीप र ज्ञान स्वदेशमा नै प्रयोग गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का युवा उद्यमी बन्दैछन् ।

यहाँका केही युवाले आफूहरू जस्तै विदेशी भूमिबाट फर्किएका ‘रिटर्नी’हरूलाई आबद्ध गरेर संस्था स्थापना गर्दै दीर्घकालीन काम अगाडि बढाएका छन् । विदेशमा रहँदा सिकेको ज्ञान र सीपलाई स्वदेशमा लगाएर ‘समृद्ध नेपाल, सुखी नेपाली’को सरकारी नारा सफल बनाउने उद्देश्यले तिनले ‘रिटर्नी माइग्रेन्ट नेपाल’ नामक संस्था स्थापना गरेका छन् ।

वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नेपालीले सो संस्थामार्फत व्यावसायिक हुनका लागि ‘रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेड’ दर्ता गरेर करोडौँको योजना अगाडि सारेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई सीप र क्षमतानुसारको रोजगारीको व्यवस्था गर्न निजी तथा सरकारी निकायसँग परामर्श गर्ने, उनीहरूको हितका लागि राज्यसँग समन्वयकारी भूमिका निर्वाह गर्ने र विभिन्न अभिमुखीकरण कार्यक्रम तथा सीपमूलक तालिम सञ्चालन गर्ने उद्देश्यले संस्था स्थापना गरिएको कम्पनीका अध्यक्ष नेत्रनारायण थनेतले बताउनुभयो । विभिन्न सङ्घसंस्थासँग समन्वय गरी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको सामाजिक हित संरक्षणका क्षेत्रमा काम गर्नका लागि सहयोग गर्न पहल गर्ने संस्थाको मुख्य उद्देश्य भएको उहाँको भनाइ छ ।

“विदेशबाट फर्किएका तर आफ्नै पुँजी लगानी गर्न नसकेर भौँतारिइरहेका पूर्वप्रवासी श्रमिकलाई सीप र क्षमताअनुसारको रोजगारीको व्यवस्था गर्ने संस्थाको योजना छ”, अध्यक्ष थनेतले बताउनुभयो । कम्पनीमार्फत चिस्यान केन्द्र, एग्रो फार्म, एग्रो मार्ट, दूध प्रशोधन केन्द्र, एग्रो रिसोर्ट एण्ड रिसर्च सेन्टर निर्माणलगायत परियोजना अगाडि सारिएको छ । कम्पनीले जिल्ला सदरमुकाम कावासोती–१४ स्थित अग्यौलीमा १६ कठ्ठा जमिनमा रु २० करोड लागतमा चिस्यान केन्द्र, मध्यविन्दु–१४ मा ११ बिघा जग्गामा रु एक करोड २० लाख लागतमा फलफूल तथा तरकारी खेती, कावासोती–१५ गोडारमा एक बिघा जमिनमा रु पाँच करोड लगानीमा २५ हजार लिटर क्षमताको दूध प्रशोधन केन्द्र तथगा एग्रो रिसोर्ट र कृषि सम्बन्धी रिसर्च सेन्टर निर्माण गर्ने गरी काम अघि बढाएको छ ।

कम्पनीका चिस्यान केन्द्र संयोजक भीमबहादुर महतोले संस्थाले आफ्नो पहिलो परियोजनाका रूपमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रिटर्नी क
म्पनी संस्था दर्ता गरेर काम शुरु गरेको बताउनुभयो । उहाँले कम्पनीमार्फत संस्थाले विदेशबाट फर्किएका तथा नेपालमा नै बसेका किसानसँग रकम उठाएर जिल्लाकै सबैभन्दा ठूलो चिस्यान केन्द्र निर्माण सुरु गरेको जानकारी दिनुभयो । रु २० करोड लागतमा देशभरका ३०० भन्दा बढी युवाको लगानीमा अग्यौलीमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको काम सुरु गरिएको बताइएको छ ।

चिस्यान केन्द्र निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । आगामी दुई वर्षभित्र चिस्यान केन्द्र सञ्चालन गरिसक्नेगरी काम अगाडि बढाइएको जनाउँदै भीमबहादुरले भन्नुभयो, “चिस्यान केन्द्रमा ५०० मेट्रिक टन क्षमताका समान ६ वटा चेम्बर रहनेछन् । एउटामा माछामासु, एउटामा २५ टन क्षमताको अटोमेसन मस्रुम कल्टिभेसन र बाँकी चार चेम्बरमा फलफूल तथा तरकारी राख्ने गरी निर्माण अगाडि बढाएका छौँ।” मस्रुम कल्टिभेसनबाट डल्ले च्याउ उत्पादन गरिने छ । च्याउको बीउ राखिएको ४० दिनपछि प्रतिदिन १०० किलोका दरले ९० दिनसम्म उत्पादन आउँछ । चिनियाँ प्रविधिमा आधारित मस्रुम कल्टिभेसनबाट गुणस्तरीय धेरै उत्पादन हुने उहाँको भनाइ छ ।

कम्पनीका प्रबन्ध निर्देशक दीपेन्द्र महतोले संस्थाले सञ्चालन गर्न लागेको चिस्यान केन्द्रमा तीन वटै सरकारको लागत सहभागिता रहेको बताउनुभयो । सरकारको ५० तथा संस्थाको ५० प्रतिशत लगानीमा चिस्यान केन्द्र निर्माणको काम सुरु गरिएको दीपेन्द्रको भनाइ छ । दुबईका विभिन्न वायर हाउसमा काम गरेर स्वदेश फर्किएका नेपालीले नवलपुरमा बन्दै गरेको चिस्यान केन्द्रको व्यवस्थापनको काम हेरिरहेको उहाँले जानकारी दिनुभयो । चिस्यान केन्द्रसहित कम्पनीले सञ्चालन गर्न लागेको सबै परियोजनामा रिटर्नीले व्यवस्थापन हेर्ने छन् ।

स्थानीय कृषकले उत्पादन गरेका ताजा फलफूल तथा तरकारी चिस्यान केन्द्रमा राखेर आवश्यक परेका समयमा बिक्री गर्ने उद्देश्यले काम सुरु गरिएको हो । आफूहरू दुबईको वायर हाउसमा काम गरेका समयमा अन्य देशबाट आएका फलफूल तथा तरकारी ल्याएर वायर हाउसमा राख्ने र बिक्री गर्ने गरिएको देखेर नेपालमा पनि त्यस्तै काम गर्ने सोचका साथ फर्किएको दीपेन्द्रले बताउनुभयो ।

कम्पनीका बजार अधिकृत रेशम खत्रीले चिस्यान केन्द्रको काम अगाडि बढाइएसँगै यसमा लगानीयोग्य रकमको अभाव नहोस् भन्ने हेतुले सर्वसाधारणका लागि सेयर खुला गरिएको जानकारी दिनुभयो । कम्पनीमा सेयर सदस्य हुनका लागि रु १० हजार देखि रु ५० लाखसम्म लगानी गर्न सकिन्छ । साधारण, प्रमोटर र संस्थापक गरी तीन प्रकारको सेयरमा लगानी खोलिएको भए पनि अहिले संस्थापक सेयर बन्द गरिएको छ । बाँकी दुई प्रकारका सेयरमा स्वदेश तथा विदेशमा रहेका नेपालीले लगानी गर्न सक्ने खत्रीको भनाइ छ । चिस्यान केन्द्रको पर्खाल निर्माणको काम सकिएर सिभिलको काम पूरा गर्दा करिब रु तीन करोड ३५ लाख खर्च भएको छ ।

जिल्लामा हालसम्म ठूला चिस्यान केन्द्र नभएकाले कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल कुहिएर खेर गएका कारण आफूहरूको पहिलो परियोजनाका रुपमा चिस्यान केन्द्र रहेको खत्री बताउनुहुन्छ । “कम्पनीले अहिले कावासोती बजारमा एग्रो मार्टसमेत सञ्चालनमा ल्याइसकेको छ”, खत्रीले भन्नुभयो, “हामीले एग्रो मार्टका लागि ट्रेड मार्कसमेत ल्याएका छौँ, खाद्यान्न आयात– निर्यात गर्ने गरी सरकारबाट स्वीकृति पाइसकेका छौँ ।”

जिल्लामा हालसम्म ठूला चिस्यान केन्द्र सञ्चालनमा आउन नसकेका भए पनि साना कोल्ड रुम भने तीन वटा छन् । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार देवचुली नगरपालिका–१३ दलदलेमा देवप्रगति बहुउद्देश्यीय सहकारी संस्थाले २० टन क्षमताको कोल्ड रुम सञ्चालनमा ल्याएको छ । त्यस्तै मह सङ्कलनका लागि देवचुली–९ रावल चोकमा १० टन क्षमताको कोल्ड रुम तथा मध्यविन्दु–३ मा टिस्यु कल्चर बिरुवाका लागि १० टन क्षमताको कोल्ड रुम सञ्चालनमा आएका छन् ।

जिल्लामा उत्पादित ताजा तरकारी तथा फलफूल याममा नै बिक्री हुने गरेको भएर हालसम्म चिस्यान केन्द्रको खासै आवश्यकता नपरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । जिल्लामा धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन राम्रो हुने गरेको उहाँको भनाइ छ । त्यस्तै तरकारी तथा फलफूल उत्पादनका दृष्टिकोणबाट जिल्लामा केरा, कागती, सुन्तला, आँप, आलु, काउली, बन्दा, टमाटर, काँक्रोलगायत उत्पादन हुने गरे पनि उत्पादनले बजार धान्नै नसकेको पौडेल बताउनुहुन्छ । “जिल्लामा मौसमी तरकारी तथा फलफूल उत्पादन हुने तर ती अपुग रहेका कारण कोल्ड स्टोरमा राख्नुपर्ने अवस्था सिर्जना भएको छैन”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “यद्यपि आलुसहित केही तरकारी भने जिल्लामा धेरै उत्पादन हुने भएकाले पछिल्लो समय कोल्ड स्टोरको आवश्यकता देखिन थालेको छ ।” पछिल्लो समय जिल्लामा अदुवा, बेसार, अलैँची, प्याज, लसुनलगायत खाद्य पदार्थसमेत उत्पादन राम्रो हुँदै गइरहेको पौडेलले बताउनुभयो । कृषकले उत्पादन गरेका बाली उत्पादनपछि बजारसम्म पु¥याएर गुणस्तरीय बनाई लामो समयसम्म बिक्री गर्नका लागि चिस्यान केन्द्रको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

नवलपुरमा ५३० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएकामा प्रतिवर्ष १२ हजार २०० मेट्रिक टन उत्पादन हुने गरेको छ । त्यस्तै २९० हेक्टरमा आँपखेती हुँदै आएकामा एक हजार ७२५ मेट्रिक टन, तीन हजार ११५ हेटर क्षेत्रफलमा हुँदै आएको आलुखेतीबाट ५५ हजार २४५ मेट्रिक टन र ९५० हेक्टर क्षेत्रफलमा अदुवाखेती हुने गरेकामा प्रतिवर्ष नौ हजार ९५० मेट्रिक टन उत्पादन हुँदै आइरहेको उहाँको भनाइ छ । त्यस्तै जिल्लामा ९० हेक्टरमा टमाटरखेती हुने गरेकामा एक हजार ६३० मेट्रिक टन उत्पादन हुने गरेको छ ।

यहाँ हिउँदे तरकारी बढी उत्पादन हुने गरेको छ । वर्षैभरि काँक्रो पनि उत्पादन हुँदै आएको छ । जिल्लाका हुप्सेकोट–१ जुकेपानी, मध्यविन्दु १ र २ तथा कावासोती–१७ मा बाह्रै महिना काँक्रो उत्पादन हुने गरेको छ । काँक्राले स्थानीय बजार धानेर पनि काठमाडौँमा निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कावासोती नगरपालिका प्रमुख चन्द्राकुमारी पुनले बिदेसिएका नेपाली स्वदेश फर्किनु र बिदेसिने तयारी गरेकालाई स्वदेशमा नै सम्भावना देखाउन लाग्नु निकै प्रेरणादायी भएको बताउनुभयो । “वैदेशिक रोजगारीमा आर्जेको सीप र ज्ञान आफ्नै माटामा प्रयोग गरेर आत्मनिर्भर बन्ने र देशलाई समृद्धिका बाटामा अगाडि बढाउन सहयोग पु-याउने रिटर्नीहरूको उद्देश्य सराहनीय छ”, पुनले भन्नुभयो ।

आफूहरू कृषिप्रधान देशको नागरिक भए पनि यसमा मात्रै निर्भर हुन सक्ने अवस्था भने नभएको जनाउँदै पुनले कृषिलाई निर्वाहमुखी पेसाका रूपमा मात्रै लिइँदा यसबाट भरपूर उत्पादन र फाइदा लिन नसक्नु दुःखद भएको बताउनुभयो । कृषिलाई अगाडि लैजानका लागि स्थानीय तहले समेत विभिन्न योजना बनाएर अगाडि बढ्नुपर्ने अवस्थामा रिटर्नीले चिस्यान केन्द्र निर्माण गरेर कृषिलाई प्रबद्र्धन गर्न खोज्नु प्रशंसनीय भएको नगर प्रमुख पुनले बताउनुभयो ।

नवलपुरमा हालसम्म व्यवस्थित कृषि बजार तथा ठूलो चिस्यान केन्द्रको अभाव छ । चिस्यान केन्द्रका लागि चितवनको भर पर्नुपरेका अवस्थामा जिल्लामा नै चिस्यान केन्द्र निर्माण हुने भएपछि व्यावसायिक कृषक खुशी भएका छन् । अग्यौलीमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको काम थालनी गरिएसँगै जिल्लाका किसान उत्पादित कृषि उपजको भण्डारण गर्न अन्यत्र जान नपर्ने भएपछि खुशी हुन् ।

चिस्यान केन्द्र स्थापनापछि कृषि उपजलाई आफ्नै ठाउँमा भण्डारण गरेर राख्न सहज हुने कावासोती–१० का प्रेमबहादुर मुखियाले बताउनुभयो । जिल्लाका मध्यविन्दु, कावासोती, देवचुली र गैँडाकोट नगरपालिकामा तरकारी खेतीका साथै तराईमा फल्ने मौसमी फलफूलको राम्रो उत्पादन हुने गरेको छ । त्यस्तै हुप्सेकोट गाउँपालिका पनि आलु उत्पादनको मुख्य क्षेत्र मानिन्छ । यहाँको आलु छिमेकी जिल्लामा पनि निर्यात हुँदै आएको छ ।

त्यसैगरी गैँडाकोटसहित यहाँका पहाडी क्षेत्रमा सुन्तला प्रजातिका फलफूलको उत्पादन राम्रो हुने गरेको छ । जिल्लामा उत्पादित तरकारी तथा फलफूल समयमा बिक्री नहुँदा कुहिएर फाल्नु परेको यहाँका कृषकको नमिठो अनुभव थियो । “किसानले उत्पादन गरेको मौसमी तरकारीले बजारमा उचित मूल्य नपाउने समस्याले हामी हैरान भएका छौँ”, मुखियाले भन्नुभयो, “चिस्यान केन्द्र निर्माणपछि भने उत्पादित तरकारी भण्डारण गरेर पछि बेच्दा उचित मूल्य पाउनेमा हाम्रो आशा जागेको छ ।” बारीमा उत्पादित मौसमी तरकारी बेमौसममा बेच्न पाइने भएको हुँदा उचित मूल्य पाउने आफूहरूको विश्वास रहेको मुखियाले बताउनुभयो ।

जिल्लामा उत्पादित तरकारी तथा फलफूल बाहिर जिल्लाका चिस्यान केन्द्रमा राख्दा लागत बढ्ने गरेको मुखियाको भनाइ छ । आफ्नै जिल्लामा चिस्यान केन्द्र बनेपछि भण्डारण गरी बेमौसममा पनि बिक्री गर्न पाइने भएको छ । जिल्लामा उत्पादित आलु, सुन्तला, अमिलो, प्याजलगायत कृषि उपज र हिमाली क्षेत्रको स्याउसमेतको यहाँ भण्डारण गरेर बेमौसममा बिक्री गरी अम्दानीमा वृद्धि गर्न सकिने मुखिया बताउनुहुन्छ । किसानले चिस्यान केन्द्रलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् भने भाडामा लिएर आफ्ना सामान राख्न चाहनेका लागि पनि सेवा उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.