खेलकूद

एपीएफलाई ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको उपाधि

हिमालय टिभी
२०७८ फागुन १६ गते १७:४५
एपीएफलाई ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको उपाधि

१६ फागुन २०७८ काठमाडौं । डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसीपको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

अघिल्लो संस्करणको खेलमा पनि एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले नै पराजित गर्दै उपाधि जितेको थियो । खेलमा ११४ रनको लक्ष्य पच्छाएको एपीएफले १५ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा ग-यो । एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ४३ रनको योगदान गरिन् । ४४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन् ।

त्यसैगरी इन्दु बर्माले अविजित रहँदै २४ बलमा २९ रन जोडिन् भने कप्तान सिता राना मगर १९ रनमा आउट भइन् । सुदूरपश्चिमका लागि लक्ष्मी साउद र सम्झना खड्काले एक/एक विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३७ रनको योगदान भने डोली भट्टले ३६ रन जोडिन् ।

त्यस्तै कविता कुँवर २४ रनमा अविजित रहिन् भने रेवती धामीले १० रनमा तथा रितु कनौजिया २ रनमा अविजित रहिन् । एपीएफका लागि सुस्मा श्रेष्ठले २ विकेट हात पारिन् । उपाधिसहित एपिएफले दुई लाख र उपविजेता सुदूरपश्चिमले एक लाख प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्