खेलकूद

कस्तो रह्यो यो सिजनको ए डिभिजन लीग ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १५ गते २०:३१
कस्तो रह्यो यो सिजनको ए डिभिजन लीग ? (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा मछिन्द्र क्लब लगातार दोस्रो पटक च्याम्पियन बन्दा राष्ट्रिय टोलीका दुई पूर्व कप्तान सम्मिलित क्लबहरु भने बी डिभिजनमा घटुवा भएका छन् । नवप्रवेशी सातदोबाटो युथ क्लबले सनसनीपूर्ण प्रदर्शन गर्दा केही स्टार खेलाडीले भने आशातित प्रदर्शन गर्न सकेनन् ।

शीर्ष डिभिजनमा बढुवा भएको करिब २ दशकमा मछिन्द्र क्लबले लगातार दोस्रो पटक ए डिभिजन लीगको उपाधि जित्यो । रैथाने क्लब मछिन्द्र ३२ वर्ष बी डिभिजनमा संघर्ष गर्दै सन् २००४ मा मात्र शीर्ष श्रेणीमा बढुवा भएको थियो ।

लीगको ४१ औं संस्करणमा दोस्रो स्थानमा आएको टोलीले त्यसको २ संस्करणपछि पहिलो पटक लीग उपाधि जित्यो । सफलता टिकाइरहन कस्सिएर लागेको क्लब कार्य समितिले यस सिजनका लागि पनि खेलाडी अनुबन्ध देखिनै हरेक कुरामा ध्यान दिएको थियो र लीग जित्न सफल भयो ।

पहिलो खेलमा न्युरोड टिम एनआरटीविरुद्ध २–१ गोलको रोमाञ्चक जित निकाल्दै मछिन्द्रले लीग सुरुवात गरेको थियो । राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेको टोलीमा रन्जित धिमाल, सुजल श्रेष्ठ जस्ता अनुभवी र पहिलोपटक ए डिभिजन खेल्दै गरेका मनिष डाँगी जस्ता खेलाडीको साथ थियो । बेन्चसमेत निकै बलियो बनाएको मछिन्द्रले पहिलो र अन्तिम खेलमा बाहेक अन्य कुनै खेलमा पनि गोल खान परेन । ११ खेलसम्म क्लिन सिट राख्न सफल मछिन्द्रका गोल रक्षक विशाल श्रेष्ठ लीगकै सर्वोत्कृष्ट गोल रक्षक बने । दुई फरक टोलीबाट लगातार ४ सिजन लिग जित्न सफल गोल रक्षक विशाललाई यो उत्साह थपेको छ ।

विधागततर्फको दुई महत्वपूर्ण उपाधि जितेको मछिन्द्रका सुनिल बल लीगकै उत्कृष्ट खेलाडी घोषित भए । पछिल्लो सिजन च्यासलबाट खेलेका उनी यस सिजनका लागि मछिन्द्रमा आएका थिए । र पहिलो सिजनमै आफ्नो स्तरीय खेल देखाउँदै उनले लीगमा ६ गोल समेत गरे ।

लीगको सातौं चरणमै तालिकाको शीर्षस्थानमा रहँदै मछिन्द्रले एएफसी कप छनोटमा स्थान समेत पक्का गरिसकेको छ । क्लब अब महाद्धिपिय प्रतियोगिताको तयारीमा लाग्ने छ । यसै सिजन ए डिभिजनमा डेब्यु गरेको सातदोबाटो जायन्ट किलरका रुपमा देखा पर्यो । लीगकै सफल क्लबहरुलाई हराउँदै पहिलो सिजनमै चौंथो स्थानमा रहन सफल सातदोबाटोले फेयर प्लेको उपाधि पायो ।

त्यस्तै आर्मीका दिनेश हेम्जन उदीयमान खेलाडी र सर्वाधिक गोलकर्ता फ्रेन्ड्सका जमाल एन्थोनी बने । लीगमा एनआरटीका मेसुके, मनाङका ओलावाले र सातदोबाटोका अजयी मार्टिन्सले ह्याट्रिक गरे । लीगमा सफल क्लबहरुका लागि यो सिजन खराब रह्यो ।

विभागीय नेपाल पुलिस क्लब रेलिगेशनको संघारमा रहँदा राष्ट्रिय टोलीका २ पूर्व कप्तान विराज महर्जनको कप्तानीको च्यासल र अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्वाइज क्लब ८ अंक जोड्दै बी डिभिजनमा घटुवा भएको छ ।

खेलका दौरान मछिन्द्रका मनिष डाँगीको घटनाले एन्फाको व्यवस्थापकीय पक्ष उदांगो पार्‍यो । लीगकै दौरान रेफ्रीहरुको विरोध जस्ता कुराले एन्फालाई समस्यामा पारेपनि विगतभन्दा लीगमा सुधारको प्रयास भने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्