खेलकूद

समूह विजेता बन्दै नेपाल ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट खेलको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७८ फागुन ९ गते १८:४८
समूह विजेता बन्दै नेपाल ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट खेलको सेमिफाइनल प्रवेश

९ फागुन २०७८ काठमाडौं । समूह चरणको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह बी मा अपराजित रहँदै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको नेपाललाई अबको खेल फाइनल जतिनै हुनेछ । किनकी सेमिफाइनलमा जित हात पार्न सके नेपालले दोस्रो पटक विश्वकप खेल्नेछ ।

लगातार दुई खेल जित्दै समूह विजेता बन्ने लक्ष्यमा रहेको नेपालले समूहको अन्तिम खेलमा परिचित प्रतिद्वन्द्वी क्यानडासँग खेल्यो । ओमान क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा ८० रन बनाउँदै अलआउट भयो । क्यानडाको ओपनिङमा थिए, रयान पठान र म्याथ्यू स्पोर्स ।

नेपालका लागि पहिलो स्पेल लिएर आएका तीव्र गतिका बलर कमलसिंह ऐरीलाई पाँचौं बलमा म्याथ्यू स्पोर्सलाई कुशल भुर्तेलबाट शून्यमा क्याच गराए । क्यानडाविरुद्ध डेब्यु खेलमै नटआउट १०८ रन बनाएर कीर्तिमान बनाएका स्पोर्स आउट भएसँगै सुरुवाती झट्का खाएको क्यानडाका लागि अर्का ओपनर रयान पठान र कप्तान नवनित धालिवालले दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गर्दै पाली सम्हाले ।

तर पाँचौं ओभरमा कमलले नै १८ रन बनाएर खेलिरहेका कप्तान धालिवाललाई लोकेश बमबाट क्याच गराए । छैटौं ओभरमा पठान पनि रनआउट भए । त्यसपछि आएका सबै ब्याटरले २ रनभन्दा बढी आफ्नो खातामा जोड्न नसक्दा क्यानडाको लगातार विकेट झरी रह्यो । १३ रन बनाउँदा ९ विकेट गुमाएपछि दयनीय अवस्थामा पुगेको क्यानडाले ११ औं ओभरमा ९ विकेट गुमाउँदा खातामा ४८ रनमात्र बनाएको थियो ।

तल्लो क्रमका सलमान नाजार र डिलन हेलिगरले अन्तिम विकेटका लागि ३२ रन बनाए । १५ औं ओभरको अन्तिम बलमा अभिनाश बोहोराले १० रन बनाएका सलमानलाई कप्तान सन्दीपबाट क्याच गराए । डिलनले नटआउट २४ रन बनाए । क्यानडाविरुद्ध धारिलो ब्याटिङ गर्दै नेपालका लागि सन्दीपले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, कमलसिंह ऐरी र अभिनाश बोहराले २(२ विकेट लिँदा कुशल मल्लको नाममा १ विकेट रह्यो ।

८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाउँदै पुरा गर्यो । ओपनर कुशल भुर्तेल र आशिफ शेखले नेपाललाई राम्रो सुरुवात दिलाए । तर चौंथो ओभरमा आशिफ सलमानको बलमा एलबिडब्लु धरापमा परे ।

आशिफ १७ रन बनाएर आउट हुँदा अर्को ओभरमा कुशल मल्ल बिना कुनै रन कलिम सनाबाट बोल्ड भए । त्यसपछि आएका दीपेन्द्र सिंह ऐरी र कुशलले नेपाललाई जित दिलाउन ५८ रनको विजयी साझेदारी गरे । १३ औं ओभर सकिँदा ६५ रन बनाएको नेपालले चौधौं ओभरमा १५ रन बनाएर स्कोर बराबरी गर्‍यो ।

शाद बिन जफरको बलमा कुशलले ३ चौका र २ बलमा १(१ रन लिँदा दीपेन्द्रले १ रन जोडे । जितका लागि १ चाहिएको अवस्थामा १५ औं ओभरको पहिलो बलमा कुशलले जुनाईद शिद्धिकीको बलमा १ रन लिँदै नेपालको जित पक्का गरे । कुशलले ३७ बलमा ३ चौकासहित ३४ रन र दीपेन्द्रले ३१ बलमा ३ चौका सहित २७ रन बनाए ।

खेलमा ३ विकेट लिएका कप्तान सन्दीप प्लेयर अफ द म्याच बने । अब सेमिफाइनलमा नेपालले यूएई प्रतिद्वन्द्वी पाएको छ ।

सेमिफाइनलमा जित्ने २ टोलीनै विश्वकपका लागि छनोट हुनेछ । यस्तोमा अष्टे«लियामा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप खेल्न नेपाललाई अब १ जित आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्