आर्थिक

राडीपाखी बेच्न सिँजाबाट तराई झर्दै

हिमालय टिभी
२०७८ फागुन ९ गते ६:४६
राडीपाखी बेच्न सिँजाबाट तराई झर्दै

९ फागुन २०७८ बागलुङ । हिउँदमा विद्यालय बन्द भएपछि बुबाको साथ लागेर तीर्थराज खत्री मधेस झर्नुहुन्थ्यो । उहाँका बुबा रतनबहादुर घुमन्ते व्यापारी हुनुहुन्थ्यो । राडीपाखी बेच्न आफ्ना बाउबाजे भारतसम्म पुग्ने गरेको खत्रीले सुनाउनुभयो ।

“चार कक्षा पढ्दा बुबासँगै भारतको फैजावाद गएको मलाई याद छ, जुम्लाका व्यापारी सिक्किम र आसामसम्म पुग्थे”, खत्रीले भन्नुभयो, “तराईतिर जाँदा उखु, भेली खान पाइने, खुब रमाइलो हुन्थ्यो ।” खत्रीका बुबा रतनबहादुर अहिले जीवित हुनुहुन्न । तर उहाँले छाडेको व्यापारको विरासत छोराहरुले धानिरहेका छन् । ४२ वर्षीय खत्री जुम्ला, सिँजादेखि बागलुङ झरेको २० वर्ष हुन लाग्यो । राडीपाखी बेच्न घुम्दैफिर्दै उहाँ २०५८ सालतिर यहाँ झर्नुभएको थियो ।

“अहिले सपरिवार यतै छौँ, खेतीबाली लगाउने र भित्र्याउने बेलामा जुम्ला जान्छौँ”, खत्रीले भन्नुभयो, “पुरानो व्यापार छोड्न सकिएन, यसकै भरमा गुजारा चलेको छ ।” उहाँकी श्रीमती, दुई छोरी र एक छोरा साथमा छन् भने दुई छोरी भने सिँजामै बस्छन् । बालबच्चाको पढाइदेखि घरको खर्चपर्च त्यहीँ व्यापारले धानेको छ ।

खत्रीका भाइ मायाराम पनि यहीँ बसेर व्यापार गर्नुहुन्छ । बागलुङ बसेर व्यापार गर्ने जुम्लीको सङ्ख्या १० भन्दा बढी रहेको उहाँले उल्लेख गर्नुभयो । घुमन्ते व्यापारी सामान आफैँले बोकेर बेच्न गाउँगाउँसम्म धाउँछन् । यामअनुसार बेच्ने सामान पनि बेग्लाबेग्लै हुन्छ । जाडोमा राडीपाखी, बख्खु, घुम, गलैँचा आदि बेच्छन् । वर्षात्मा त्रिपाललगायत गर्मी यामका पहिरन÷सामग्री बेच्न हिँड्छन् । पछिल्लो समय राडापाखीको व्यापार भने खस्कदै गएको खत्रीको अनुभव छ ।

“माथितिर भेडापालन कम भयो, सबै कमाउन र पढ्न भनेर सहर झर्न थाले, राडीपाखीको उत्पादन घट्यो”, उहाँले भन्नुभयो । बजारमा सस्तो मूल्यमा उस्तै सामग्री पाइन थालेपछि परम्परागत उत्पादनको माग घट्दै गएको खत्रीले बताउनुभयो । उपभोक्ताको रोजाइमा राडीपाखीको सट्टा गलैँचा, कम्मल आदि पर्न थालेको छ । खत्रीले आफूहरुले जुम्लामै बनेको राडीपाखीलाई रु तीन हजार ५ सयदेखि रु चार हजारसम्ममा बेच्ने गरेको उहाँले सुनाउनुभयो । राडीपाखी, बख्खुलगायत जुम्लाबाट ल्याउने गरेपनि अरु सामान नेपालगञ्ज र काठमाडौँबाट आउने गरेको उहाँको भनाइ छ ।

कर नतिरेको, घुमन्ते शैलीमा मनलाग्दी रुपमा सामान बिक्री गरेको आरोप लाग्न थालेपछि खत्रीले ‘तीर्थराज फेन्सी’का नाममा व्यवसाय दर्ता गर्नुभएको छ । उहाँ बागलुङ उद्योग वाणिज्य सङ्घको साधारण सदस्यसमेत हुनुहुन्छ । काठमाडौँमा प्रविणता प्रमाणपत्र तहको अध्ययनलाई बीचैमा छाडेर व्यापार रोज्नुभएका खत्रीले बाउबाजेले गर्दै आएको व्यापारको परम्परागत शैलीलाई आफूले पछ्याएको बताउनुभयो ।

“आर्थिक अवस्थाका कारण धेरै पढ्न सकिएन, केही न केही गर्नै प¥यो, घरपरिवार चलाउनुप-यो”, उहाँले भन्नुभयो ।

सिँजाकै भक्तिप्रसाद जैसी पनि बागलुङ आएको १२ वर्ष भयो । उहाँको पनि जुम्ला आउजाउ त चलि नै रहन्छ । गहुँ, जौ लगाएपछि त्यहाँका व्यापारीहरु तल पहाड र सहरतिर झर्ने गरेको उहाँले बताउनुभयो । जैसीको पनि बढी जसो समय अहिले बागलुङमै बित्छ । वर्षको एक÷दुई पटक मात्र उहाँ जुम्ला पुग्नुहुन्छ । जैसीका भाइसाथीमध्ये कतिले परिवार नै अस्थायी रुपमा यतै सारेका छन् । कोही भाडाको कोठा खोजेर एक्लै बस्छन् । बसाइ बागलुङ सदरमुकाम भए पनि सामान बेच्न पर्वत र म्याग्दीका गाउँसम्म पुग्छन् ।

ति जिल्लामै डेरा बसेर व्यापार गर्ने जुम्लीहरु पनि छन् । पोखरामा त त्यो सङ्ख्या अझ ठूलो छ । सानो छँदा बुबासँगै गाउँठाउँ डुल्दा व्यापारमा मन गएको जैसीले सम्झनुभयो । “मौसमअनुसार जे माग हुन्छ, त्यही सामान लिएर बेच्न हिँड्छौँ”, उहाँले भन्नुभयो, “घरघर डुल्दा कहिलेकाहीँ गाह्रो पनि हुन्छ, तर कमाइ आउँदा सबै दुःख भुलिन्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *