खेलकूद

अलपत्र बन्यो अरनिको खेल मैदान, पिउने पानी र शौचालयसम्म छैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ८ गते १८:२१
अलपत्र बन्यो अरनिको खेल मैदान, पिउने पानी र शौचालयसम्म छैन (भिडियो रिपोर्टसहित)

८ फागुन २०७८ दाङ । दाङको तुलसीपुरस्थित मध्य भागमा रहेको अरनिको मैदानमा खेलकुदका प्रतियोगिता मात्र नभई मेला महोत्सव, राजनीतिक पार्टीका कार्यक्रमसमेत आयोजना हुने गर्दछन् । यही मैदानमा उभिएर राजनीतिक दलहरुले धेरै वर्षदेखि खेलकुदको स्तरोन्नति गर्ने भाषण ठोके । तर, ५० वर्ष वित्यो, मैदानमा कुनै परिवर्तन भएको छैन । यतिसम्मकी पिउने पानी र शौचालयको व्यवस्थासमेत छैन ।

तुलसीपुरको चिनारी अरनिको मैदान जस्तो ठुलो मैदान अन्यत्र छैन । २०२८ सालमै मैदानको स्वरुप पाएको यो ठाउँ अहिले बढीजसो घाम ताप्न प्रयोग हुँदै आएको छ । यहाँ खेलकुद प्रतियोगिताभन्दा बढी राजनीतिक र साँस्कृतिक कार्यक्रम नै हुने गरेका छन् । तर, अहिलेसम्म खेल मैदानको रुपमा विकास गर्न कसैले ध्यान दिएको छैन ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेपश्चात दाङले संरचना निर्माणमा ठूलो प्रगति गरेको छ । लमही र घोराहीमा क्रिकेट मैदान छन् । बेलझुण्डीमा पनि फुटबल मैदान छ । तीन विगाह क्षेत्रमा फैलिएको यो मैदानलाई व्यवस्थित गर्न सके तुलसीपुरबाट थप खेलाडी उत्पादन हुने सम्भावना छ ।

बेलाबेला मैदानमा भलिबल र फुटबल प्रतियोगिताहरु आयोजना हुँदै आएका छन् । तर, शौचालय, पिउने पानी र चेन्जिङ रुमको व्यवस्था नहुँदा खेलाडी मैदानबाहिरको होटल प्रयोग गर्न बाध्य छन् भने दर्शकहरु धुले मैदानमा बसेर खेल हेदै आएका छन् ।

नगर विकास समितिको उदासिनताले मैदान अतिक्रमणको जोखिममा परेको छ । तर, नगर विकास समिति भने कोभिड महामारीका कारण मैदानको स्तरोन्नति नभएको तर्क गर्छ ।

खेलकुदको स्तर उकास्ने पहिलो आधार हो मैदान हो । तर, यस्ता मैदान अलपत्र पर्दा अक्रिमणको खतरा त छँदैछ, त्यससँगै प्रतिभावान खेलाडीले आफ्नो कौशल सुधार्न नपाउने र खेल्नका लागि अन्यत्र जानुपर्ने अवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्