आर्थिक

दूधको मूल्यवृद्धि मात्रै समाधान हो ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २ गते २०:४१
दूधको मूल्यवृद्धि मात्रै समाधान हो ?(भिडियो रिपोर्टसहित)

२ फागुन २०७८ काठमाडौं । २०६७–६८ मा प्रतिलिटर ४८ रुपैँया रहेको दूधको मूल्य हाल ८६ रुपैँया पुगेको छ । यो दश वर्षको अन्तरालमा ६ पटक दूधको मूल्यमा वृद्धि भएको छ ।

किसान र उद्योगीहरूको मागलाई दुग्ध विकास बोर्डले साथ दिएर मूल्य वृद्धिको सिफारिस गरेको जनाएको छ। दूधको मूल्य कुनकुन समयमा कति वृद्धि भयो ? वृद्धिको आधार के हो ? बढेको मूल्य किसानसम्म पुग्छ कि पुग्दैन ?

पछिल्लो एक दशकमा दूधको मूल्य ६ पटक बढेको छ। एक दशकमा दूधको मूल्य ४१ रुपैयाँ बढेको राष्ट्रिय दूग्ध विकास बोर्डले जनाएको हो । २०६७ सालमा प्रतिलिटर ४ रुपैयाँ, २०६९ मा २ रुपैयाँ, २०७० मा ६ रुपैयाँ र २०७१ मा ८ रुपैयाँ मूल्य बढेको थियो ।

यस्तै २०७४ मा ६ रुपैयाँ, २०७६ मा पनि ६ रुपैयाँ र पछिल्लो समय २०७८ मा ९ रुपैयाँ बढेको छ । गाइवस्तुको दाना, किसानको उत्पादन लागत र श्रमिकको ज्याला वृद्धिलगायतका कारणलाई आधार मानेर मूल्यवृद्धि गरिएको बोर्डले जनाएको छ ।

केही वर्ष अघिसम्म सरकारले आफूखुशी मूल्य बढाउँदै आएको थियो । तर राष्ट्रिय दुग्ध विकास नीति २०७८ अनुसार हरेक २ वर्षमा वार्षिक मूल्यवृद्धि एवम् उत्पादन लागतका आधारमा दूधको मूल्य पुनरावलोकन हुने गर्दछ । यो पटक दूधको मूल्य बढ्नु स्वाभाविक भएको र बढेको मूल्यमा ७२ प्रतिशत अर्थात ६ रुपैयाँ ५२ पैसा किसानकै हातमा पुग्ने सरकारको दाबी छ।

सरकारले ९ रुपैयाँ बढाएपछि दुग्ध विकास संस्थान र निजी डेरीहरुले उपभोक्ता मूल्य भने १४ रुपैयाँसम्म वृद्धि गरेका छन् । फ्याटका आधारमा उपभोक्ता मूल्य निर्धारण गर्ने भएकाले ९ रुपैयाँदेखि १४ रुपैयाँसम्म बढेको निजी क्षेत्रको दाबी छ ।

बोर्डका अनुसार नेपालमा करिब ३० लाख घरपरिवार दूध उत्पादनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् । यसमध्ये १२ लाखले धरायसी उपभोग र १८ लाख किसानले धरायसी उपभोगसँगै नियमित विक्री गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *