आर्थिक

नेपालको ‘स्ट्रीट फुड कल्चर’: सडक छेउमा राखिएका खानेकुराहरु कत्तिको स्वस्थकर? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २४ गते २१:०६
नेपालको ‘स्ट्रीट फुड कल्चर’: सडक छेउमा राखिएका खानेकुराहरु कत्तिको स्वस्थकर? (भिडियो रिपोर्टसहित)

२४ माघ २०७८ काठमाडौं । विश्व बजारमा फैलिरहेको स्ट्रीट फुड अर्थात् सडक छेउछाउ गरिने खानेकुराको व्यापार पछिल्लो समय नेपालमा पनि फस्टाउँदै गएको छ । छिटो, छरितो र सस्तो भएका कारण पनि मानिसहरु स्ट्रीट फुडप्रति आकर्षित हुने गरेका छन् । तर धुलोधुवाँयुक्त फोहोर सडक छेउछाउमा राखिएका यस्ता खानेकुराहरु कत्तिको स्वस्थकर छन् त ?

शहरको व्यस्त जीवनशैली स्ट्रीट फुडप्रति आकर्षण बढ्नुको मुख्य कारण मान्न सकिन्छ । स्ट्रीट फुड छिटो–छरितो रुपमा उपलब्ध हुने र खुल्ला आकासमूनि बसेर खाँदा फरक अनुभूति पनि हुने भएर होला यस्तो व्यापारमा आकर्षण बढेको देखिन्छ। तर अव्यवस्थित धुलो र फोहोरयुक्त सडक छेउमा राखिएका यस्ता खानाको स्वादमा रमाइरहेकाहरु खाद्य स्वच्छता र गुणस्तरप्रति कत्तिको सचेत छन् त ?

विदेशतिर स्ट्रीट फूडको प्रचलन ती देशको संस्कृतिको रुपमा स्थापित हुँदै गएको छ । तर त्यहाँ निश्चित ठाउँमा स्वच्छ, स्वस्थ र व्यवस्थित रुपमा सञ्चालन गरिएको पाइन्छ । अखाद्य वस्तु विक्री गरे कडा सजाय हुने भएकाले खाद्य सुरक्षाको मापदण्ड अपनाएर स्ट्रीट फुड व्यापार सञ्चालन गरिने हुँदा ढुक्कले खान सक्ने अवस्था छ ।

तर हाम्रो जस्तो प्रदुषणयुक्त सडक छेउछाउमा अव्यवस्थित रुपमा राखिएका खानेकुराहरुले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने हुन्छ । अर्कातिर अखाद्य वस्तु मिसिएको भएपनि कानून र अनुगमनको पाटो फितलो हुँदा स्वास्थ्यमा नराम्रो असर पर्न सक्ने सम्भावना पनि त्यत्तिकै छ । तर व्यापारीहरु भने ग्राहकको स्वास्थलाई ख्यालमा राखेरै जतिसक्दो सफा र स्वच्छ तरिकाले खाने कुरा तयार गर्ने गरेको बताउँछन् ।

नेपालमा गुणस्तर नियन्त्रणमा काम गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि बेला बखत स्ट्रीट फुडबारे अनुगमन तथा सचेतना फैलाउने काम गर्दै आएको छ । विभागका अनुसार प्रदेशमा रहेका ८ कार्यालयमार्फत २२ वटा डिभिजन कार्यालयबाट खाद्य सुरक्षा सम्बन्धी अनुगमन गर्ने र स्ट्रीट फुड व्यापार सञ्चालन सम्बन्धी सचेतना कार्यक्रम र तालिम पनि दिँदै आएको छ ।

सहरका सडक छेउछाउमा सञ्चालित यस्ता स्ट्रीट फुड उपभोक्तामुखी छन् कि छैनन त ? उपभोक्ताको स्वास्थ्यमा कस्तो असर पर्छ ?

स्ट्रीट फूडको अवधारणा नराम्रो भने पक्कै होइन । तर कतिपय ठाउँमा नछोपी राखेका खानेकुरामा मानव स्वास्थ्यका लागि हानिकारक किटाणु गएर बस्न सक्ने जोखिम हुन्छ, जसका कारण मानव स्वास्थयमा गम्भीर समस्या उत्पन्न गराउँछन् । तसर्थ स्ट्रीट फुडमा व्यापारी र ग्राहक सचेत र सजग हुनु आवश्यक छ। खाद्य स्वच्छताका मापदण्ड पालना गरेर सञ्चालन गर्ने हो भने स्ट्रीट फूड व्यापार नेपालमा पनि संस्कृतिकै रुपमा विकास हुने अवसर पाउने छन् ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *