Political Hightlights

चार वर्षसम्म नाम राख्न पनि असक्षम प्रदेश १ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २२ गते १४:४०
चार वर्षसम्म नाम राख्न पनि असक्षम प्रदेश १ (भिडियो रिपोर्टसहित)

२२ माघ २०७८ विराटनगर । ६ वटै प्रदेशले आफ्नो नाम टुङ्ग्याएपछि दबाबमा परेको प्रदेश १ ले पनि नामकरणका लागि प्रक्रिया अघि बढाएको छ । एकल पहिचान, बहुपहिचान वा भूगोल, के को आधारमा प्रदेशको नाम राख्ने भन्ने विषय टुङ्गो लाग्न नसक्दा चार वर्षसम्म प्रदेश नामविहीन छ ।

प्रदेश स्थापनाको चार वर्षमा प्रदेश १ ले तीन जना मुख्यमन्त्री पायो । शुरुमा शेरधन राई त्यसपछि भीम आचार्य र अहिले राजेन्द्रकुमार राई । सबै मुख्यमन्त्रीले प्रदेश नामकरणलाई पहिलो प्राथमिकतामा राखेको रटान पनि लगाइरहे । तैपनि अहिलेसम्म पनि नामाङ्कन टुङ्गिएको छैन । नामकङ्कनको विषयले बल्ल प्रदेश सभामा प्रवेश पाएको छ । तै पनि सत्ता घटक दलहरुबीच नै सहमति नहुँदा विषय जटिल नै छ ।

प्रदेशसभामा रहेका आदिवासी जनजाति सांसद पहिचानका आधारमा र खस, आर्य, मधेसी लगायतका सांसद भूगोलका आधारमा प्रदेशको नामकरण हुनुपर्ने पक्षमा छन् ।

नेपाली कांग्रेस भूगोलका आधारमा र माओवादी केन्द्र, संघीय समाजवादी पार्टी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मञ्च बहुपहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने पक्षमा छन् । सत्तापक्षमा नै फरक धारणा भएका कारण सहमति कठिन भए पनि एउटा सहमतिको विन्दु खोज्न आवश्यक रहेको नेपाली कांग्रेसको भनाइ छ ।

कुल ९२ प्रदेशसभा सदस्यमध्ये ५० सत्तापक्ष र ४२ प्रतिपक्षमा छन् । जसले गर्दा सत्तापक्ष एकै ठाउँमा उभिए पनि दुई तिहाइ मत आउने अवस्था देखिँदैन । प्रतिपक्षमा रहेको एमालेले यो कुनै राजनीतिक विषय नभै यो प्रदेशको साझा विषय भएका कारण सहमतिमा टुङ्ग्याउनुपर्ने मत राख्दै आएको छ । यद्यपि के नाम राख्ने भन्ने विषयमा एमालेले आफ्नो धारणा भने तयार गर्न सकेको छैन ।

अहिलेसम्म भुगोलका आधारमा कोसी वा सगरमाथा र बहुपहिचानको आधारमा कोसी किरात नामको चर्चा हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्