स्थानीय तहको चुनाव वैशाखमै भए पनि सामना गर्न तयार छौंः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)
१५ माघ २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न तयार रहेको बताउनु भएको छ ।
अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताउनु भएको हो । आज काठमाडांैमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उहाँले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दावी समेत गर्नु भयो ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने बताउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिबद्ध रहेको पनि बताउनु भयो ।
अध्यक्ष नेपालले भन्नु भयो–चुनावसँग हामी आत्तिएका छैनौं । चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं । चुनाव यदि जेष्ठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं । असारमा गर्ने हो भने सामना गर्न तयार छौं । असोजमा गर्ने हो भने सामना गर्न तयार छौं ।
अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिनाभित्र गर्न उपयुक्त हुने धारणा पनि राख्नु भयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गतेपछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दावी समेत गर्नु भयो ।
अध्यक्ष नेपालले संवैधानिक व्यवस्था अनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो–स्थानीय तहको निर्वाचनबारे संविधानमा लेखिएको कुरालाई हामीले सबभन्दा पहिला ध्यानमा राख्नु पर्दछ । संविधानको धारा २२५ मा प्रष्ट लेखेको छ–कि गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भइसकेको समयदेखि ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु पर्नेछ ।
अध्यक्ष नेपालले कांग्रेस नेताहरु गठबन्धनमा आवद्ध दलहरुको सहमतिमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको बताउनु भयो ।
प्रतिक्रिया