खेलकूद

आफ्ना विरोधीलाई पाखा लगाउँदै क्यान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १४ गते २०:४८
आफ्ना विरोधीलाई पाखा लगाउँदै क्यान (भिडियो रिपोर्टसहित)

१४ माघ २०७८ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को पछिल्लो बोर्ड बैठकले चार क्रिकेट खेलाडीलाई गरेको कारवाही फिर्ता लिएजस्तो गरेर आफ्ना विरोधीलाई पाखा लगाउने काम गरेको छ ।

क्यानको आलोचना गर्दै आएका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको कप्तानी खोस्ने निर्णय यथावत राख्दै जनरल म्यानेजर रौनक मल्लको सम्झौता नवीकरण नगर्नुले पनि यो आशंकलाई थप बलियो बनाएको छ ।

खेलाडीको ग्रेडिङ सुधार, साधारण सभा मिति घोषणादेखि अन्य महत्वपूर्ण निर्णय गरेको क्यानको पछिल्लो बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तानीबाट हटाउने निर्णय भने यथावत राखेको छ । यसले क्यान नेतृत्वले पूर्वकप्तान मल्ललाई नियतबस कारवाही गरेको हो की भन्ने आशंका खेलकुद वृत्तमा चलिरहेको छ ।

अध्यक्ष चतुरबहादुर चन्दले केही समयअघि भनेको कुरालाई आधार मान्ने हो भने पनि मल्लले क्यान नेतृत्वको अस्तित्व नै स्वीकार गरेका थिएनन् । त्यसैले कप्तान परिवर्तनका लागि त पछिल्लो घटना भएको होइन् भन्ने आशंकालाई थप बलियो बनाएको छ ।

तत्कालिन कप्तान मल्लसहित चार जना खेलाडीलाई गरिएको कारवाहीविरुद्ध अन्य खेलाडीले ऐक्यबद्धता जनाएपछि क्यानले कारवाही त फिर्ता लियो तर, मल्लको कप्तानी फिर्ता भएन ।

आइसीसीको निलम्बन फुकुवा भएपछि बनेको कार्यसमिति र विषेशगरी अध्यक्षको काम गराइप्रति बेलाबेला मल्लले आलोचना गरिरहेका थिए । ग्रेडिङ लगायतका विषय उठाइए पनि पूर्व कप्तान ज्ञानेन्द्रको क्यान नेतृत्वसँग राम्रो सम्बन्ध नभएको कुरा जगजायरै छ ।

पछिल्लो बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । विभिन्न समितिका लागि जिम्मेवारी हस्तान्तरण, कर्मचारी नियुक्ति लगायतका निर्णय गर्दा जनरल म्यानेजर रौनक मल्लसँग पदअवधि सम्झौता नथप्ने भएको छ ।

अध्यक्ष चन्दसँग सम्बन्ध राम्रो नभएकै कारण जनरल म्यानेजर रौनक मल्लको सम्झौता पनि नवीकरण भएन भन्ने चर्चा पनि चलेको छ । यसले पनि यो प्रष्ट पार्छ की फरक मत राख्नेलाई क्यान पेलेरै अघि बढ्न चाहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्