आर्थिक

सुपारी आयात खुलाउन यस्तो चलखेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १४ गते १८:२६
सुपारी आयात खुलाउन यस्तो चलखेल (भिडियो रिपोर्टसहित)

१४ माघ २०७८ काठमाडौं । हाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै आयातमा एकपछि अर्को कडाइ गरिरहेको छ । केही सामग्री आयातमा शतप्रतिशत रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिसकेको छ ।

यस्तो अवस्थामा तस्करी हुने भनेर वर्षौंदेखि बदनाम सुपारीको आयात खुला गर्ने गृहकार्यमा सरकार लागेको छ । यसलाई जानकारहरूले अनियमितताका रूपमा अर्थ्याएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माको असहमतिपछि परिमाणात्मक बन्देज लगाइएको सुपारी आयात खुलाउने प्रस्ताव यसअघिको मन्त्रिपरिषद् बैठकबाट पास हुन सकेन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २५ हजार मेट्रिक टन सुपारी आयात खोल्न दिने प्रस्तावमा मन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति सीमित रहेका बेला अनावश्यक वस्तुको आयात खोल्न नहुने भन्दै असन्तुष्टि जनाएपछि थप परामर्श गरेर मात्र ल्याउने भन्दै फिर्ता पठाइएको छ ।

हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा मातहत छ । मुलुकमा निकै कम खपत हुने भए पनि डलरमा आयात गरेर अवैध मार्गबाट महँगोमा भारततर्फ निकासी गरिने वस्तुको आयातमा सरकारले खासै ठूलो रुची देखाउन नहुने जानकार बताउँछन् ।

नेपालमा औद्योगिक प्रयोजनका लागि ८ देखि १० हजार मेट्रिकटन मात्रै सुपारी खपत हुने गरेको छ । तेस्रो मुलुकबाट सस्तोमा आयात गरिने सुपारी भारत तस्करी हुँदा राम्रो आम्दानी हुने भएकाले व्यापारीहरुले सुपारी आयातको कोटा खोल्न उच्च राजनीतिक लविङ गर्ने गरेका छन् । अहिले मुलुकका अधिकांश आर्थिक सूचक नकारात्मक रहेका बेला आयात खुलाउने हो भने अर्थतन्त्रमा थप समस्या निम्तन सक्ने भन्दै सरकारलाई सचेत गराएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमै ५ हजार ३ सय किलो अवैध सुपारी बरामद गरिसकेको छ । सिंगापुर, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डबाट आयात हुने सुपारी स्थानीय उत्पादनको लेबल लगाएर लामो समयदेखि भारत तस्करी हुँदै आएको छ ।

अनियमितताको आशंका र आलोचनाबाट बच्न सरकारले नेपालका औद्योगिक क्षेत्रका लागि कच्चा पदार्थका रूपमा ल्याउने भनी निर्णय गर्ने तयारी गरे पनि त्यो आयातको प्रस्ताव औद्योगिक मागभन्दा निकै बढी हो । यसले पनि तस्करीको आशंकालाई थप बल पुर्‍याउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *