आर्थिक

बन्द भएको कपास खेती पुनः शुरु गर्ने तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १४ गते १७:०१
बन्द भएको कपास खेती पुनः शुरु गर्ने तयारी (भिडियो रिपोर्टसहित)

१४ माघ २०७८ बर्दिया । बर्दियाको कुम्भरमा रहेको कपास खेती पुनः शुरु गर्न कपास विकास समितिले स्थानीयसँग छलफल शुरु गरेको छ ।

२०५९ मा तत्कालिन माओवादीले समितिको कार्यालयमा बम विस्फोट गराएर जग्गा कब्जा गरेपछि बन्द भएको कपास खेती शुरु गर्न छलफल थालिए त्यहाँका किसान सकारात्मक छैनन् ।

२०५९ सालमा तत्कालिन माओवादीले कपास विकास समितिको कार्यालय भवनमा तोडफोड र आगजनी गरेर जग्गा कब्जा गरेपछि कुम्भरमा कपास खेती बन्द भयो ।

समितिको कुम्भर र खजुरास्थित कार्यालयमा बम विस्फोट र आगजनी गर्दा करिब पाँच करोड ९३ लाख बराबरको क्षति भयो । कुम्भरमा मात्र २५ वटा भवन, डोजर, ग्रेडर, ट्रयाक्टरलगायतका सम्पत्ति ध्वस्त भए ।

त्यसपछि किसानहरुले कपास खेती छोडेर अन्य बाली लगाउन थालेका छन् । बन्द भएको झन्डै दुई दशकपछि जग्गामा समितिले पुनः कपास खेती गर्नका लागि कुम्भरका शेयर किसान सदस्यसँग छलफल सुरु गरेको हो ।

समितिले २०४५ सालमा कपास खेती गर्नका लागि जग्गा कुम्भर क्षेत्रका ३ सय ७८ किसान परिवारलाई १० कठ्ठादेखि साढे ४ बिघासम्म दिएको थियो ।

समितिको जग्गामा कपास खेती गरे बापत शेयर सदस्य किसानले उत्पादनको १५ प्रतिशत समितिलाई बुझाउने बाँकी ८५ प्रतिशत आफैँ राख्दै आएका थिए । अहिले किसानहरु कपास खेती गर्न आनाकानी गरिरहेका छन् ।

समितिबाट कपास खेती गर्ने शर्तमा शेयर सदस्यको रुपमा जग्गा लिएका किसानहरु जग्गाको स्वामित्व पाउनुपर्ने माग गरिरहेका छन् । अहिलेसम्म आफूहरुले नै संरक्षण गरिदिएकाले जग्गा पाउनुपर्ने उनीहरुको तर्क छ ।

भारत लगायत तेस्रो मुलुकबाट आयात हुने कपासको परिमाणलाई क्रमशः घटाउँदै जाने सरकारको नीति अनुसार कुम्भरमा फेरि कपास खेती शुरु गराउने तयारी गरिएको हो ।

प्राविधिक सहयोगसहित बिउ, मलखाद उपलब्ध गराएर समितिले २०५१ सालमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङका बिभिन्न क्षेत्रको ४ हजार २ सय हेक्टरबाट करिव ३ हजार ४ सय मेट्रिक टन कपास उत्पादन हुन्थ्यो ।

नेपालमा वार्षिक १० हजार मेट्रिक टनको कपासको माग छ । तर, अहिले दाङका बिभिन्न क्षेत्रको करिब ८० हेक्टरबाट करिव ६८ टनमात्र उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *