खेलकूद

मछिन्द्र क्लबलाई ३–१ गोलले हराउँदै एपीएफ आहा रारा गोल्डकपको फाइनल प्रवेश

हिमालय टिभी
२०७८ माघ १२ गते १७:०४
मछिन्द्र क्लबलाई ३–१ गोलले हराउँदै एपीएफ आहा रारा गोल्डकपको फाइनल प्रवेश

१२ माघ २०७८ काठमाडौं । ए डिभिजन लीगमा अपराजित रहँदै तालिकाको शीर्षस्थानमा रहेको मछिन्द्र क्लब पोखरामा जारी आहा रारा गोल्डकपमा पराजित भएको छ ।

पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा मछिन्द्र विभागीय टोली एपिएफ क्लबसँग ३–१ गोलले स्तब्ध भएको हो । १० खेलाडीमा सीमित मछिन्द्रविरुद्ध जित निकाल्न एपीएफका सनिश श्रेष्ठ, प्रदीप लामा र नवीन लामाले गोल गरे ।

मछिन्द्रका ओमोलाजा नुरेन करिमले १ गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलका राम्रा अबसर बनायो । २५ औं मिनेटमा सनिसको गोलबाट एपीएफले अग्रता लियो । करिब ३० यार्डबाट मणि लामाले प्रहार गरेको फ्रिकिकमा हेडर गर्दै सनिशले सुन्दर गोल गरे ।

त्यसपछि पटक पटक गोलको अबसर बनाएपनि ४० औं मिनेटमा ओमोलाजाको गोलबाट मछिन्द्र खेलमा फर्कियो । कप्तान रेजिन धिमालको फ्रिकिक सदुपयोग गर्दै ओमोलाजाले खेल बराबरी गरे । पहिलो हाफ १–१ गोलको बराबरी भएको खेलको दोस्रो हाफमा एपिएफले थप २ गोल गर्यो ।

६९ औं मिनेटमा कप्तान नविन लामाको क्रसमा गोलरक्षक अघि बढेको मौकाको फाइदा उठाउँदै प्रदीपले एपीएफलाई २–१ को अग्रता दिलाए । त्यसको २ मिनेट पछि मछिन्द्र १० खेलाडीमा सीमित भयो । मछिन्द्रलाई बराबरी गराएका ओमोलाजाले रेफ्रीसँग विवाद गरेपछि दोहोरो पहेँलो कार्ड पाए ।

१ खेलाडी कम रहेको मछिन्द्रविरुद्ध अन्तिम समय हावी देखिएको एपीएफका लागि इन्ज्युरी समयमा कप्तान नवीनले तेस्रो गोल गर्दै जित सुनिश्चत पारे । यससँगै आहा रारा गोल्डकपको इतिहासमै एपीएफ दोस्रो पटक फाइनल पुगेको छ ।

यसअघि एपीएफ २०६४ मा फाइनलमा प्रवेश गरेको थियो । अब उपाधिका लागि एपीएफले त्रिभुवन आर्मी फूटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको विजेतासँग खेल्नेछ । यि दुईबीचको दोस्रो सेमिफाइनल भोलि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्