Political Hightlights

माओवादीले अझै छान्न सकेन पदाधिकारी, पद हत्याउन हानथाप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ११ गते २०:४१
माओवादीले अझै छान्न सकेन पदाधिकारी, पद हत्याउन हानथाप (भिडियो रिपोर्टसहित)

११ माघ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन भएको एक महिना पुग्यो । तर जसरी महाधिवेशनबाट माओवादी नयाँ ढंगले अगाडि बढ्ने अपेक्षा गरिएको थियो त्यसो हुन सकेको छैन ।

नयाँ केन्द्रीय समिति सर्वसम्मत चयन गरे पनि पदाधिकारी चयनमा सकस देखिएको छ । विचारमा भन्दा पनि नेतृत्व आफूले नै पाउनुपर्ने हानाथापका कारण माओवादीको टिम बन्न सकेको छैन।

अन्य दलभन्दा आफ्नो महाधिवेशन अग्रगमन भएको दाबी गर्ने माओवादी केन्द्रले एक महिनासम्म पनि पदाधिकारीलाई पूर्णता दिनसकेको छैन । आठ दिनसम्म चलेको आठौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय समितिलाई मात्र पूर्णता दिन सक्यो ।

महाधिवेशन पुस १८ गते सकिएको भएपनि अहिलेसम्म माओवादीको केन्द्रीय समितिले पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरोको टिम चयन गर्न सकेको छैन । महाधिवेशन लगत्तै नयाँ टिम बनाउनुपर्ने भएपनि कोरोनाको बहानाले बैठक बस्न सकेको छैन ।

पदाधिकारीमा आकांक्षीहरु धेरै भएपछि पदाधिकारी चयन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै पोल्टामा हालिएको छ । पदाधिकारीमध्ये अध्यक्षपछि शक्तिशाली पद महासचिव हुने भएकाले पनि महासचिवमा आकांक्षीहरु धेरै छन ।

अध्यक्षमा प्रचण्ड सर्वसम्मत् भएपनि वरिष्ठ उपाध्यक्ष, महासिचवसहित १५ जना पदाधिकारी चयन गर्नु पर्ने छ । सिद्धान्ततः २ सय ९९ सदस्यीय केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्नुपर्ने भएपनि पदाधिकारी चयनको जिम्मा नेताहरुले प्रचण्डलाई दिएको छ ।

महाधिवेशनबाट आएका केन्द्रीय सदस्यभन्दा प्रचण्ड नै पदाधिकारी चयनमा निर्णायक हुनुहुन्छ । विदेशमा उपचार गराएर फर्किएका नेता वर्षामान पुन पनि महासचिवका आकांक्षी भएपछि उहाँलाई अध्यक्ष प्रचण्डले पर्खिएको कतै लुकेको छैन । उपचारपछि आइतबार नेपाल फर्किएका पुनले महासचिवमा आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ।

पुनबाहेक महासिचवका लागि कृष्णबहादुर महरा, पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, शक्ति बस्नेत लगायतका नेताहरु आकांक्षी छन्। तर महाधिवेशनले केन्द्रीय सदस्य जसरी सर्वसम्मतमै घोषणा गरिएको थियो त्यसरी नै महासचिवसहित अन्य पदाधिकारी समेत सर्वसम्मती बनाउने जिम्मा प्रचण्डको काँधमा छ । यहाँ प्रचण्डले जसलाई चाह्यो त्यही महासचिव बन्ने निश्चित छ ।

बहुपदीय अभ्यास गरेको माओवादीमा महासचिव जस्तो शक्तिशाली पदको टुंगो लगाउने जिम्मा अध्यक्षलाई नै दिंदा चाकडीवादले प्रश्रय नपाउला भन्न सकिन्न । सिद्धान्तमा बहुपदीय भनिए पनि शक्ति केन्द्रितकृत गर्ने व्यवहार आफैमा विरोधाभाषपूर्ण छ । त्यसैले प्रचण्डले रुचाएको नेता नै महासचिव बन्ने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्