Political Hightlights

स्थानीय तहको चुनाव गर्न गठबन्धन तयार भएकै हो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ४ गते १८:१३
स्थानीय तहको चुनाव गर्न गठबन्धन तयार भएकै हो ? (भिडियो रिपोर्टसहित)

४ माघ २०७८ काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने सहमति जुटाएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको वैशाखको मितिमा सरकार उदासिन बनेको आरोप लाग्दै आएको थियो ।

प्रमुख प्रतिपक्षी दल एमालेले वैशाखमा निर्वाचन नगर्ने सरकारको नियत रहेको आरोप लगाउँदै आएको थियो । तर, सत्तारुढ गठबन्धन सहमत बनेपछि हाललाई शंका चिरिएको छ ।

आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने दबाबमा सरकार छ । संवैधानिक व्यवस्था अनुसार पनि सरकारले आगामी जेठ ५ गते अघि नै निर्वाचन सक्नुपर्ने निर्वाचन आयोगले यसअघि नै स्पष्ट पारिसकेको छ । वैशाख १४ गते मिति प्रस्ताव गरेको आयोग सरकारको निर्णय पर्खिरहेको छ ।

सरकारले निर्वाचनको मितिमा चासो नदिएको भन्दै प्रतिपक्षी दल नेकपा एमाले, नागरिक समाज र स्थानीय जनप्रतिनिधिहरुले सरकारलाई स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दवाव दिइरहेका छन् । चौतर्फी दबावपछि सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो ।

झण्डै डेढ घण्टा बसेको बैठकमा गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका संयोजक उपेन्द्र यादव भने अनुपस्थित हुनुभयो । दुई शीर्ष नेताको अनुपस्थितिमै बसेको समितिको बैठकमा वैशाखमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने बिषयमा सहमति जुटेको बताइएको छ । तर मिति भने तय भैनसकेको जानकारी दिएको छ ।

सहमतिका विषयमा जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानमा भएको व्यवस्था अनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

गठबन्धनको बैठकमा निर्वाचनको विषयमा निर्वाचन आयोगसँग सरकारले थप परामर्श गरेर निर्वाचनको मिति घोषणा गर्ने सहमति पनि बनेकोछ।

वैशाखमै निर्वाचन गराउने बिषयमा सहमति भएपनि मितिको टुंगो भने नेपाल र यादव सहितको आगामी बैठकले लगाउने भएको छ । गठबन्धनले निर्वाचनको मितिको टुंगो लगाएपछि मन्त्रिपरिषद्को आगामी बैठकबाट निर्णय हुने अनुमान गरिएको छ ।

विगतमा समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न नसक्दा १५ वर्ष सम्म स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । जनप्रतिनिधि नहुँदा स साना कामका लागि पनि नागरिकले सदरमुकाम र केन्द्रीय राजधानीसम्मै धाउनुपर्ने अवस्था आउन नदिन सरकारले समयमै निर्वाचनको मिति घोषणा गरेर आवश्यक तयारीमा लाग्न अब ढिला गर्नु मनासिव हुँदैन् । तर, कोरोना संक्रमणको रफ्तारलाई ध्यानमा राख्नपनि उत्तिकै आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्