खेलकूद

प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

हिमालय टिभी
२०७८ माघ ४ गते १७:०५
प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि पुलिस र  एपीएफ भिड्ने

४ माघ २०७८ काठमाडौं । प्रधानमन्त्री कप ट्वेन्टी–ट्वेन्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै एपीएफले पुलिससँगको भेट पक्का गरेको हो ।

२ सय ३१ रनको विशाल लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन मात्र बनायो । आर्मीका भीम सार्की र हरि चौहानले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । आर्मीका मध्येक्रमका ब्याटर राजेश पुलामी मगरले सर्वाधिक ३८ रन बनाए । बलिङमा एपीएफका कप्तान शरद भेषावकरले ३ विकेट लिए । त्यस्तै, भुवन कार्की र अभिनाश बोहराले २–२ विकेट लिए ।

यसअघि, टस गुमाएर पहिले ब्याटिङ गरेको एपिएफले २० ओभरमा २ विकेट गुमाएर २ सय ३० रन बनायो । एपिएफको जितमा युवा ब्याटर लोकेश बम र आसिफ शेखले विष्फोटक ब्याटिङ गरे ।

ओपनरद्धय प्रदीप ऐरी र आसिफ शेखले पहिलो विकेटका लागि १ सय ५० रनको विशाल साझेदारी गर्दै एपिएफलाई विशाल लक्ष्यतर्फ दोहोर्‍याए । १५ औं ओभरको अन्तिम बलमा आसिफ ८४ रन बनाएर आउट भए । ४३ बलमा १० चौका र ५ छक्का प्रहार गरेको उनी सुमित श्रेष्ठको बलमा बिक्रम शोबबाट क्याच भए ।

त्यसपछि आएका कप्तान शरद ९ रनमै पेभेलिगन फर्किएपछि चौंथोमा ब्याटिङ गर्न आएका लोकेशले अर्धशतकीय पाली खेले । १४ बलमै अर्धशतक पुरा गरेका लोकशले १८ बलमा २ चौका र ९ छक्कासहित नटआउट ६८ रन बनाए । ओपनर प्रदीपले पनि ५७ रनको अर्धशतकीय योगदान दिए ।

आजै भएको पहिलो सेमिफाइनलमा दीपेन्द्र सिंह ऐरीको घातक बलिङसँगै बागमती प्रदेशमाथि ५० रनको जित निकाल्दै पुलिसले फाइनलमा स्थान पक्का पारेको छ । १५६ रनको लक्ष्यसहित मैदान ओर्लेको बागमतीले निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा १०५ रनमात्र बनाउन सक्यो । उसका लागि आदिल खानले २७ तथा कप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोडे ।

त्यस्तै रामनरेश गिरी २२ रनमा नटआउट रहे । बलिङतर्फ पुलिसका ऐरीले पाँच तथा सागर ढकालले २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५५ रन बनाएको थियो । पुलिसका पवन सर्राफले ५९ तथा अनिल साहले २५ रन जोड्दा दिलीप नाथ ३१ रनमा अविजित रहे । बलिङमा बागमतीका नन्दन यादव र रिजन ढकालले समान २२ विकेट लिए ।

अब पुलिस र एपीएफबीच भोलि फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्