खेलकूद

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम विजयी हुँदा आर्मी सेमिफाइनलमा

हिमालय टिभी
२०७८ माघ २ गते १३:१४
प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम विजयी हुँदा आर्मी सेमिफाइनलमा

२ माघ २०७८ काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप ट्वेन्टीट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूह ए अन्तर्गत आज सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई हराएसँगै सेमिफाइनल खेल्ने टोलीको छिनोफानो भएको हो । सुदूरपश्चिमको जितले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई अन्तिम चारमा पुर्‍याएको हो ।
समूहको अन्तिम खेल खेल्दै गरेको सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले हराउँदै सुखद अन्त्य गर्‍यो। १ सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले खेल सकिन ५ बल बाँकी छँदा ३ विकेट गुमाउँदै भेट्टायो ।

सुदूरपश्चिमको जितमा ओपनर राजु रिजालले सर्वाधिक ६८ रनको अर्धशतकीय पाली खेले । सन्तोष भट्टले रुवात दिलाएका राजुले ५२ बलमा ९ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, सन्तोषले ४८ रनमा बनाए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५८ रन बनायो ।

प्रदेश १ का मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाए ।बलिङमा सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले २–२ विकेट लिए । यो नतिजासँगै आर्मी ४ खेलबाट ५ अंकका साथ समुह ए को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।

समूहमा नेपाल पुलिस क्लब ६ अंकका साथ विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरिसकेको छ । पुलिस र प्रदेश १ बीच हिजो स्थगित भएको खेल पुन खेल्ने वा अंक बाँड्ने निर्णय आज हुनेछ । तर यसको नतिजाले सेमिफाइनल समीकरणमा कुनै फरक पार्ने छैन् ।

अब समुह विजेता पुलिसले सेमिफाइनलमा समूह बी को उपविजेता बागमती प्रदेश र समूह ए को उपविजेता आर्मीले समूह बी को विजेता एपीएफ क्लबसँग खेल्नेछ ।

समूह बी मा ४ खेलबाट ८ अंकसहित एपीएफ विजेता र समान खेलबाट ६ अंक जोडेको बागमती उपविजेताका रुपमा अन्तिम चार प्रवेश गरेका थिए । यस समूहको अन्तिम खेलमा अहिले गण्डकी र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्