आर्थिक

चालू आर्थिक वर्षको ६ महिना नाघिसक्दा विकास खर्चको अवस्था किन यस्तो निराशाजनक ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १ गते १८:४९
चालू आर्थिक वर्षको ६ महिना नाघिसक्दा विकास खर्चको अवस्था किन यस्तो निराशाजनक ? (भिडियो रिपोर्टसहित)

१ माघ २०७८ काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना नाघिसक्दा विकास खर्चको अवस्था निराशाजनक छ। पूँजीगततर्फ चार खर्ब ३९ अर्ब ६५ करोड ९ लाख रुपैयाँ विनियोजन भएकोमा ६ महिना मात्र ११ प्रतिशत अर्थात ५० अर्ब ८० करोड ८० लाख रुपैयाँ मात्र विकास खर्च भएको छ । यसले आर्थिक वृद्धिको लक्ष्य मात्र होइन, आर्थिक संकटको खतरा बढाएको छ ।

चालु आर्थिक वर्ष २०७८–७९ को आधा वर्ष अर्थात ६ महिना सकिइसकेको छ । यो अवधिको पुस मसान्तसम्ममा सरकारले आर्थिक वर्षको कूल बजेटमध्ये ३१ दशमलव ०३ प्रतिशतमात्र खर्च गरेको छ ।

चालुगत खर्च ४० दशमलव ४९ प्रतिशत भएपनि पूँजीगत खर्च ११ दशमलव ५६ प्रतिशत मात्र भएको छ । यस्तै, वित्तीय व्यवस्थापनतर्फ २६ दशमलव १२ प्रतिशत खर्च भएको छ । यसले के देखाउँछ भने विकास र पूर्वाधारमा छुट्टाइएको बजेट खर्च कहालीलाग्दो छ । अहिलेको वर्ष मात्र होइन, एक दशकदेखिको अवस्था उस्तै हो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटको पूँजीगत खर्चलाई प्राथमिकता दिने बताए पनि ६ महिनाको खर्च हेर्दा यो वर्षको बजेट पनि असार मसान्त केन्द्रित हुने प्रष्ट छ ।

१६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याइएको भए पनि ६ महिनामा ५ खर्ब मात्र खर्च भएको महालेखा नियन्त्रणको तथ्याङ्क छ । यसरी समयमै बजेट खर्च हुन नसक्नुको कारण योजना बिना नै हचुवाको भरमा बजेट बिनियोजन गर्नुरहेको अर्थविज्ञहरुको भनाइ छ ।

चालुआर्थिक वर्षको बजेटमा चालूतर्फ १० खर्ब तीन अर्ब ७४ करोड ७ लाख खर्च भएको छ । यस्तै, पूँजीगततर्फ चार खर्ब ३९ अर्ब ६५ करोड नौ लाख र वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

यसरी ६ महिनामा जुन रफ्तारमा पुँजीगत खर्च भएर अगाडि बढ्नु पर्ने हो त्यसमा अर्थमन्त्री शर्मा चुकेको अवस्था छ । सरकारले कोरोना महामारीकाबिचमा समेत आर्थिक वृद्धिदर सात प्रतिशत हुने प्रक्षेपण गर्यो तर बजेट कार्यान्वयको अवस्था बिजोग हुँदा अर्थतन्त्र समेत संकटमा पर्दै आएको छ । बजेट खर्चको सुरुको ६ महिना सुस्ताउने र अन्तिममा समयमा आएर असारे विकास यस वर्ष पनि दोहोरिने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *