खेलकूद

ए डिभिजन लीगः मछिन्द्र र मनाङ मर्स्याङ्दी उपाधि होडमा बलियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २८ गते २०:३१
ए डिभिजन लीगः  मछिन्द्र र मनाङ मर्स्याङ्दी उपाधि होडमा बलियो (भिडियो रिपोर्टसहित)

२८ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीगको आठौं चरणको समाप्तीमा दुई क्लब मछिन्द्र र मनाङ मर्स्याङ्दी उपाधि होडमा बलियो देखिएका छन् । तेस्रो र चौथो स्थानका क्लबहरुले बाँकी खेलमा अप्रत्यासित नतिजा निकालेमा मात्र उपाधिको समीकरणमा फेरबदल हुनेछ । अन्यथा मछिन्द्र र मनाङनै यस पटकको उपाधि नजिक छन् ।

आठौं चरण सकिँदा साविक विजेता मछिन्द्र र सर्वाधिक सफल मनाङ मर्स्याङ्दी क्लब यो संस्करणको ए डिभिजन लिग जित्ने प्रमुख दाबेदारका रुपमा उभिएका छन् । एउटा पनि खेल नहारेको मछिन्द्रले ६ जित र २ बराबरीको नतिजासहित २० अंक जोडेको छ ।

मनाङले भने ६ जित, एक हार र एक बराबरी खेलेको छ । पाँच खेल बाँकी रहँदा एक अंक कम बटुलेको मनाङले मछिन्द्रलाई पछ्याइरहेको छ । मनाङले व्यहोरेको १ मात्र हार पनि मछिन्द्रविरुद्ध नै थियो । तेस्रो र चौथो स्थानका संकटा र त्रिभूवन आर्मी दोस्रो स्थानको मनाङभन्दा पाँच अंकले पछि छन् । खेलमा आश्चर्यजनक नतिजा नआए मछिन्द्र र मनाङमध्ये एकले उपाधि जित्ने निश्चित छ ।

एनआरटीविरुद्धको जितबाट यो सिजन सुरु गरेको मछिन्द्रले तालिकाका अग्र चार टोलीसँग खेलिसकेको छ । त्यसैले तुलनात्मक रुपमा उपाधि रक्षा अभियान मछिन्द्रको सहज देखिएको छ ।

त्यसमाथि एएफसी क्लब कप खेल्ने मौकाले दिएको उत्साह र उत्कृष्ट प्रदर्शनका लागि गरिएको तयारीले उसलाई थप बलियो बनाएको छ । सुरुवाती ८ खेलमा १० गोल गरेको मछिन्द्रले १ गोलमात्र खाएको छ । पहिलो खेलमै एनआरटीसँग गोल खाएयताका सात खेलमा मछिन्द्रले क्लिनसिट राख्न सफल भएको छ ।

अब नवौं चरणमा मछिन्द्रले १२ औं स्थानको ब्रिगेड ब्वाईजसँग खेल्दैछ, जुन तुलनात्मक रुपमा सहज छ । त्यसपछि हुने थ्रीस्टार र सातदोबाटोको खेल भने चुनौतिपूर्ण छ । एपीएफ र च्यासल लिगमा राम्रो लय समात्न नसकेको अवस्थामा मछिन्द्रलाई सहज छ ।

मनाङले भने त्रिभूवन आर्मी, थ्रीस्टार, सातदोबाटो, एपीएफ र एनआरटीको सामना गर्नै बाँकी छ । जावलाखेलविरुद्धको जीतबाट सिजन सुरु गरेको मनाङले विपक्षीको पोष्टमा १५ गोल गर्दा ४ गोल खाएको छ । तर, बाँकी खेलमा भने मनाङलाई शतप्रतिशत अंक खोस्न चुनौति छ । त्यतिमात्र नभई मनाङले उपाधि उचाल्न मछिन्द्रले अंक गुमाउनुपर्नेछ ।

उपाधिका दाबेदार दुबै टिमका लागि नवप्रवेशी सातदोबाटो र थ्रीस्टार बाधक बन्न सक्नेछन् । यो सिजन राम्रो खेल्न नसकेको थ्रीस्टारले पनि शीर्ष चारमा रहन बाँकी खेलमा ज्यान दिएर खेल्नेछ । जसका कारण उपाधि होडमा फेरबदल आउन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्