प्रधानमन्त्री देउवाद्वारा संसद गतिरोध अन्त्यको पहल, एमाले अध्यक्ष ओलीसँग भेटवार्ता

२४ पुस २०७८ काठमाडौं । संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल थाल्नुभएको छ ।
प्रधानमन्त्री देउवाले आज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संसदको गतिरोध अन्त्यका लागि छलफल गर्नुभएको छ ।
सत्ता गठबन्धनको बैठकले एमालेसँग सहमतिका लागि प्रधानमन्त्री देउवालाई जिम्मा दिएको भोलिपल्ट देउवा ओली निवास बालकोट पुग्नुभएको हो ।
भेटमा प्रधानमन्त्री देउवाले संसद् बैठकमा एमालेले निरन्तर गरिरहेको अवरोध खुलाउन आग्रह गर्नुभएको छ । ओलीले भने आफूलाई सरकारबाट विस्थापित गर्न सर्वोच्च अदालतसँग सेटिङ गरेको आरोप लगाउनु भएको छ ।
साथै एमाले फुटाउन अध्योदश ल्याएको र त्यसमा सभामुखले समेत सहयोगी भूमिका खेलेको भन्दै एमाले अध्यक्ष ओली सत्ता गठबन्धनसँग रुष्ट हुनुहुन्छ ।
एमाले विभाजित भएर माधव नेपाल नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी)लाई अवैध भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टी अवैध रहेको दाबीसमेत गरिरहनुभएको छ ।
यसअघि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो ।
पौडेलसँगको छलफल पनि सकारात्मक नभएपछि संयन्त्रले यो जिम्मा प्रधानमन्त्रीलाई नै दिएको थियो । ओलीसँगको भेटमा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पनि एमालेको धारणासमेत माग्नुभएको छ ।
प्रतिक्रिया