ए डिभिजन लीग फूटबलमा आज तीन खेल हुँदै

२४ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आज तीन खेल हुँदैछन् ।
आठौं चरण अन्तर्गत आजको पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लबसँग खेल्नेछ । शीर्ष स्थानको मछिन्द्रले ७ खेलबाट १७ अंक जोडेको छ । मछिन्द्रको लक्ष्य आज शीर्ष स्थान कायमै रहने हुनेछ ।
उता समान खेलबाट मात्र ३ अंक जोडे्दै फ्रेन्ड्स तालिकाको पुछारमा रहेको टोली हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ ।
आजै पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबीच खेल हुनेछ । दोस्रो स्थानको मनाङले ७ खेलमा १६ अंक जोड्दा समान खेलबाट ५ अंकसहित च्यासल रेलिगेसन जोनमा छ ।
मनाङ आज शीर्ष स्थानमा र च्यासल रेलिगेसन भन्दा माथि उक्लने लक्ष्यमा रहने छन् । पोखरा रंगशालामा खेल दिउँसो दुई बजे शुरू हुनेछ ।
उता दशरथ रंगशालामा हुने खेलमा न्यूरोड टीम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
एनआरटी ७ खेलमा १० अंक जोडेर सातौं स्थानमा छ । चौथो स्थानको आर्मीले ११ अंक जोडेको छ । खेल अपरान्ह पौने पाँच बजे शुरू हुनेछ।
प्रतिक्रिया