Political Hightlights

कोइरालाको देउवालाई चुनौती, सुध्रिनुहोस् नत्र पार्टी दुर्घटनामा जान्छ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २१ गते २१:०६
कोइरालाको देउवालाई चुनौती, सुध्रिनुहोस् नत्र पार्टी दुर्घटनामा जान्छ  (भिडियो रिपोर्टसहित)

२१ पुस २०७८ काठमाडौं । भाषणमा आदर्शको कुरा गरेर नथाक्ने नेताहरु व्यवहारमा उल्टो बाटोमा हिड्ने गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा पराजित डाक्टर शेखर कोइरालाले आफू गुट र भागबण्डाको पक्षमा नभएको बताउनुभएको थियो । तर, पार्टीमा आफ्नो उपस्थिति देखाउन नेता कोइराला गुटगत छलफल र भेलामा सक्रिय हुनुभएको छ ।

नेपाली कांग्रेसको सभापतिमा पराजित शेखर कोइराला हिजो–आज गुटगत छलफलमा सक्रिय बन्नुभएको छ । महाधिवेशन लगतै उहाँनै हो, अब कांग्रेसमा गुटको अन्त्य भएको भाषण गर्ने नेता । उहाँले एक महिनापछि नै गुटलाई पुनः अस्तित्वमा ल्याउने प्रयास सुरु गर्नुभएको छ । तर, उहाँ निकटहरु कोइरालाले सभापतिसंग बार्गेनिङ र भागबन्डाका लागि नभएर पार्टीमा भित्रिएको बिकृति बिसंगतिका विरुद्ध लडाई लडिरहेको दाबी गर्छन् ।

नेपाली कांग्रेसको सभापतिका निर्वाचित हुने निकटतम प्रतिद्वन्दीलाई बरिष्ठ नेता मान्ने प्रचलन थियो। १३ औं महाधिवेशनमा शेरबहादुर देउवासंग पराजित नेता रामचन्द्र पौडेललाई सभापतिपछिको पद वरिष्ठ नेताको पद दिइयो । तर यसपटक देउवाका निकटतम प्रतिद्न्दी कोइरालालाई भने केन्द्रीय समितिको बरियाताक्रम्मा २० औं नम्बरमा राखियो ।

पार्टीमा बरियतालाई लिएर रुष्ट बनेका कोइराला समूह केन्द्रीय समितिमा १३ जनालाई मनोनित गरेपछि त देउवासंग आमनेसामने हुने मनस्थितिमा छन्। त्यसैले कोइरालाले केही दिन यता आफू पक्षीय नेताहरुलाई बोलाएर छलफल प्रारम्भ गर्नु भएको छ ।

बुधबार पनि कोइरालाले काठमाडौंको हनुमानस्थानमा १४ औं महाधिवेशनमा आफ्नो समूहबाट उम्मेदवारी दिएका र आफु पक्षीय अन्य नेताहरुलाई बोलाएर छलफल गर्नु भयो । गोप्य भनिएको छलफल प्रारम्भ गर्नु अघि कोइरालाले सम्बोधन गर्दै पार्टीमा मन पर्ने र नपर्ने व्यक्तिका रुपमा छनौट हुने हो भने पार्टीमा दुर्घटना निम्तिने भन्दै देउवालाई चेतावनी नै दिनुभयो ।

केन्द्रीय सदस्यको मनोनयतमा आफ्नो समूहका एक जना पनि नपरेपछि कोइराला देउवासंग रुष्ट बन्नुभएको छ । त्यसैले केन्द्रीय सदस्यको मनोनयनका सम्बन्धमा पनि उहाँले प्रश्न उठाउनु भयो ।

सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गर्दा पौडेल बाहेक अरु सबै आफूलाई निर्वाचित गराउन सहयोग गर्ने नेताहरु रहेका छन् । पार्टी भित्र कटुता, विभाजन र असहयोगी भावना कतैबाट आउन नहुनेमा आफ्नो जोड रहेपनि पार्टीमा इमान्दार, निष्ठावान, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित रुपमा सभापति देउवाले पाखा लगाउन खोजेको कोइरालाको आरोप छ ।

महाधिवेशनमा भागबन्डा र गुटबन्दीमा नलाग्ने प्रतिबद्धता जनाउने कोइरालाले पछिल्ला दिनहरुमा गुटलाई नै प्रश्रय मिल्ने गरी बैठक र छलफल तीव्र पार्नु भएको छ । बरियता र केन्द्रीय सदस्य मनोनयन नै कोइरालाका लागि गुटलाई बलियो बनाउने औजार भने बनेको छ । आफ्नो बरियता पनि कोइरालाका लागि प्रतिष्ठाको बिषय बनेको छ ।

सभापतिमा पराजित कोइराला १३ औं महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । अघिल्लो कार्यसमितिमा उहाँको बरियता ३५ औं नम्बरमा थियो । तर यसपटक सभापतिमा पराजित भएका कोइरालाको बरियता २० औं नम्बरमा आइपुगेको छ । ६४ सालपछि मात्रै संक्रिय राजनीतिमा लाग्नु भएका कोइराला भन्दा धेरै पाका र माथिल्लो तहका नेतारु कांग्रेसमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्