घरेलु टोलीविरुद्धको पहिलो टेष्ट खेलमा बंगलादेशको ऐतिहासिक सफलता

२१ पुस २०७८ काठमाडौं । घरेलु टोली न्यूजिल्याण्डविरुद्धको पहिलो टेष्ट खेलमा बंगलादेशले ऐतिहासिक सफलता हात पारेको छ ।
पाहुना टोली बंगलादेशले पहिलो टेष्ट आठ विकेटले जितेको हो । ४० रनको झिनो लक्ष्य बंगलादेशले २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । बंगलादेशका कप्तान मोमिनुल हक १३ तथा मुस्फिकर रहिम ५ रनमा अविजित रहे ।
त्यस्तै नाजमुल होसैन सान्टो १७ र सादमन इस्लाम तीन रनमा आउट भए । न्यूजिल्याण्डका टीम साउथी र काइली जेमिसनले एकएक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले पहिलो इनिङमा ३ सय २८ रन जोड्दा बंगलादेशले ४ सय ५८ रनको योगफल तयार पारेको थियो । दोस्रो इनिङमा न्यूजिल्याण्ड १ सय ६९ रनमै अलआउट भएपछि बंगलादेशले ४० रनको सामान्य लक्ष्य पाएको थियो ।
यससँगै घरेलु मैदानमा १७ खेलमा अपराजित विश्व टेष्ट च्याम्पियन न्यूजिल्याण्डको विजयी यात्रा रोकिएको छ । त्यस्तै टेष्ट खेलमा बंगलादेशको न्यूजिल्याण्डमाथि यो पहिलो जित पनि हो ।
बंगलादेशले अहिलेसम्म न्यूजिल्याण्डमा भएका कुनै पनि फर्म्याटका क्रिकेट खेल जित्न सकेको थिएन । जितसँगै दुई खेलको टेष्ट श्रृंखलामा बंगलादेशले १(० को अग्रता लिएको छ ।
प्रतिक्रिया