खेलकूद

रोमाञ्चक बन्दै ए डिभिजन लिग फूटबल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २० गते २०:३५
रोमाञ्चक बन्दै ए डिभिजन लिग फूटबल (भिडियो रिपोर्टसहित)

२० पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणको समाप्तीमा साबिक विजेता मछिन्द्र क्लब शीर्षस्थानमा छ । विभागीय नेपाल पुलिस क्लबलाई हराउँदै मछिन्द्रले एएफसी कप छनोटमा स्थान बनाएको छ ।

लिगको मध्यान्तरसम्म उपाधि होडमा मछिन्द्रसँगै मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लब रहेका छन् । उपाधि होडमा जतिकै रेलिगेशन जोनबाट बच्न पनि रोमाञ्चक प्रतिस्पर्धा जारी छ ।

१३ औं चरणसम्म हुने सहिद स्मारक ए डिभिजन लिगमा अहिले आधाभन्दा बढि खेल सम्पन्न भईसकेका छन् । कुल ९१ खेल हुने लिगमा ४९ खेल सकिँदा उपाधि होड रोचक बनिरहेको छ । सातौं चरणको समाप्तीमा साबिक विजेता मछिन्द्र क्लब ५ जित र २ बराबरी खेल्दै १७ अंकका साथ तालिकाको शीर्षस्थानमा छ ।

लिग लिडर मछिन्द्रलाई १६ अंक सहित मनाङ मर्स्याङ्दी क्लब र १३ अंकसहित संकटा क्लबले पछ्याईरहेको छ । ७ खेलसम्म मछिन्द्र, संकटा र त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेका छन् भने पुछारको फ्रेण्ड्स क्लबको जितविहीन यात्रा जारीनै छ ।
अंक सुधारका लागि सहभागी क्लबहरुलाई सातौं चरण जति महत्वपूर्ण थियो त्यो भन्दा बढि मछिन्द्र र मनाङका लागि थियो ।

यही चरणमा शीर्षस्थान हासिल गरेको खण्डमा क्लबले महाद्धिपिय प्रतियोगिता एएफसी कप छनोट खेल्ने मौका पाउँदै थियो । यो समिकरणमा मछिन्दले बाजी मार्दा मनाङ भने निराश बन्यो । एएफसी क्लब लाईसेन्स पाएका दुई विभागीय टोली आर्मी र एपिएफ यो होडबाट पहिलेनै बाहिरीसक्दा सातौं चरणमा ब्रिगेड ब्वाइज क्लबलाई हराएर मनाङले मछिन्द्रमाथि दबाब बनाएको थियो ।

मनाङको जितसँगै जितको बिकल्प नभएको मछिन्द्रले नेपाल पुलिस क्लबलाई १(० गोलले हराएर शीर्षस्थानमा फर्किँदै एएफसी कप छनोटको टिकट पक्का गर्‍यो । गत सिजन उपाधि जिते पनि क्लब लाईसेन्स नभए पछि यो मौका गुमाएको मछिन्द्र पहिलो पटक एएफसी कप छनोटमा सहभागी हुँदैछ ।

उपाधि रक्षा गर्ने अभियानमा रहेको मछिन्द्र उपाधि होडमा पनि अब्बल देखिएको छ । लिगमा बलिया प्रतिद्धन्दी मनाङ, आर्मी, संकटा र पुलिसजस्ता क्लबसँग खेलिसकेको कारण पनि अबका खेलमा मछिन्द्रलाई केहि सहज हुनेछ ।

मनाङले पनि कठिन प्रतिद्धन्दी संकटा, पुलिस र मछिन्द्रको चुनौती सामना गरिसकेको छ । त्यसैले उपाधि दौडमा मछिन्द्र र मनाङनै अगाडि रहँदा संकटाको सम्भावना पनि बलियोनै देखिन्छ । उपाधि होडमा जस्तै रेलिगेशन जोनबाट बच्न पनि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । ५ अंक जोडेको च्यासल र ३ अंक जोडेको फ्रेण्ड्स रेलिगशेन जोनमा छन् । पाँचौं चरणदेखि यी दुई रेलिगशेन जोनबाट बच्न संघर्ष गरिरहेका छन् ।

विगतमा जस्तो यस पटक विभागीय टोली आर्मी र पुलिसको प्रदर्शन सन्तोषजनक छैन् । आर्मी ११ अंक सहित चौंथो स्थानमा रहँदा समान ६ अंक जोडेका एपिएफ १० औं र पुलिस ११ औं स्थानमा छन् ।

लिगमा औसत १ दशमलव नौ दुईका दरले अहिलेसम्म कुल ९४ गोल भईसकेका छन् । जसमा सातौं चरणमा मात्र कुल १३ गोल भए । जारी लिगमै उत्कृष्ट प्रदर्शन गरिरहेका मछिन्द्रका सुनिल बल ५ गोल सहित गोल्डेन बुटको दौडमा अगाडी छन् । उनलाई ४ गोल गरेका एपिएफका आशिष लामा र बिकी तामाङ तथा सातदोबाटोका अजयी मार्टिन्स्ले पछ्याईरहेका छन् । अजयी मार्टिन्स् अहिलेसम्म लिगकै एक मात्र ह्याट्रिक कर्ता हुन् ।

लिगमा सातौं चरणका खेलहरु तुलनात्मक रुपमा फेयर प्ले देखिएको छ । किनकी यस चरणमा १४ वटा मात्र पहेलो कार्ड देखाईएको छ जुन अहिलेसम्मकै कम हो । पाँचौं चरणमा रेफ्रिले २८ पहेँलो कार्ड देखाएका थिए । अहिलेसम्म खेलाडीहरुले १ सय ४० पहेँलो पाउँदा एक मात्र रातो कार्ड देखाईएको छ । तर आयोजक एन्फाले लिगमा अझै पनि सुधारका धेरै काम गर्न बाँकी देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्