Political Hightlights

माओवादी केन्द्रको विधान पारित, केन्द्रीय समिति मिश्रित निर्वाचन प्रणालीबाट चुनिने

हिमालय टिभी
२०७८ पुष १७ गते १४:३३
माओवादी केन्द्रको विधान पारित, केन्द्रीय समिति मिश्रित निर्वाचन प्रणालीबाट चुनिने

१७ पुस २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्दसत्रबाट विधान मस्यौदा पारित भएको छ । बन्दसत्रमा विधान मस्यौदा पेश गर्नुभएका स्थायी समिति सदस्य देव गुरुङले मस्यौदामाथि उठेका जिज्ञाको जवाफ दिनुभएपछि विधान सर्वसम्मतिले पारित भएको हो ।

विधानलाई आगामी केन्द्रीय समितिले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गर्नुभएको थियो । विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पु-याइएको छ ।

महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपाङ्गता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला तथा २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दाबी गर्नुभएको छैन, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिनुहुने पक्कापक्की छ । वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दाबी गर्नुभएको छ । यस्तै दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।

विधान पारित भएसँगै निर्वाचनको काम अगाडि बढाउने निर्वाचन आयोगको तयारी छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुने जानकारी दिनुभयो । विधान पारित भएसँगै केही समयका लागि बन्दसत्र स्थगित भएको छ । अहिले पार्टीको स्थायी समिति बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा चलिरहेको छ ।

माओवादीको महाधिवशेन यही पुस ११ गतेदेखि राजधानीमा सुरु भएको हो । शुक्रबारको बन्दसत्रले पार्टी अध्यक्ष प्रचण्डले पेश गर्नुभएको ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक वैचारिक दस्तावेज सर्वसम्मतिले पारित गरेको थियो । दस्तावेजमाथि छलफल गर्न विभिन्न २५ समूह बनाइएको थियो । राजनीतिक प्रतिवेदनमाथि मङ्गलबार र बुधबार समूहगत छलफल भएको थियो ।

शुक्रबारको बन्दसत्रमा निर्वाचन आयोगका प्रमुख श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टङ्क राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि नेता राम कार्की र लेखनाथ न्यौपानेले फरक मत राख्नुभएको थियो । दस्तावेजमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले फरक मतमा उठेका विषयलाई उचित ढङ्गबाट सम्बोधन गरिने बताउनुभएको थियो ।

दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार संश्लेषणका लागि महान बहसको थालनी गरेको निष्कर्ष सुनाउँदै अध्यक्ष प्रचण्डले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव गर्नुभएको थियो । महाधिवशेनमा एक हजार सात सय बढी प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनले आजै केन्द्रीय समितिको टुङ्गो लगाउनेछ ।

यसअघि माओवादीको सातौँ महाधिवशेन २०६९ फागुनमा हेटौँडामा भएको थियो । सो महाधिवशेनले जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्षसहित बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको तयारी गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्