Political Hightlights

माओवादीको विधान अनुमोदन, १५ जना पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी रहने

हिमालय टिभी
२०७८ पुष १७ गते १३:०७
माओवादीको विधान अनुमोदन, १५ जना पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी रहने

१७ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान मस्यौदा अनुमोदन भएको छ ।

यसअघि अन्तिम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा केही परिमार्जनसहित ८औं महाधिवेशनको बन्दसत्रबाट पारित भएको हो । अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ भने १५ जना पदाधिकारी रहने छन् ।

विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ । पदाधिकारीलाई समावेशी बनाउने उल्लेख गरिएको छ ।

यस्तै केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ । १५ प्रतिशत सदस्य मनोनीत गरिने छ । यसअघि १० प्रतिशत मात्रै मनोनीत हुने व्यवस्था थियो ।

मस्यौदामा केही परिमार्जन गरी प्रतिनिधिको सुझाव अनुसार राष्ट्रिय परिषद्को पनि व्यवस्था गरिएको छ । यस्तै, केन्द्रमा जस्तै प्रदेशअन्तर्गत पनि गैरभौगोलिक विशेष कमिटी निर्माण गर्न सकिने व्यवस्था गरिएको छ ।

जसअनुसार महाशाखा, शाखा गठन हुनेछन् । विधान पारित भएलगत्तै बन्दसत्रस्थल कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमै स्थायी कमिटी बैठक जारी छ । बैठकपछि निर्वाचन प्रक्रिया शुरु हुनेछ ।

माओवादीले महाधिवेशन आज सक्ने तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव हिजै पारित भएको छ । पुस ११ गतेबाट शुरु भएको मा‌ओवादीको महाधिवेशन थप दुई दिन लम्बिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्