खेलकूद

सेन्ट्रल जोन भलिबल प्रतियोगितामा महिलातर्फ नेपालको लगातार पाँचौ जित

हिमालय टिभी
२०७८ पुष १२ गते १५:४१
सेन्ट्रल जोन भलिबल प्रतियोगितामा महिलातर्फ नेपालको लगातार पाँचौ जित

१२ पुस २०७८ काठमाडौं । बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधिका लागि नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।

राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराउँदै उज्वेकिस्तानले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

हिजो उज्वेकिस्तानलाई नै हराउँदै नेपालले एक खेलअघिनै फाइनलमा स्थान बनाएको थियो । राउण्ड रोबिनको अन्तिम खेलमा आज किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार पाँचौ जित निकालेको छ ।

अपराजित रहेको नेपालले किर्गिस्तानमाथि २५–८, २५–१४ र २५–१७ को सेटमा जित निकालेको हो । नेपालले ५ खेलमा १४ अंक जोडेको छ ।

यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा बंगलादेशलाई ३–० को सेटमा हराएको थियो ।

अब नेपाल र उज्वेकिस्तानबीच फाइनल खेल भोलि हुनेछ । श्रीलंकाले भने तेस्रो स्थानका लागि किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्