Political Hightlights

वर्गीय धरातलमा फर्कन माओवादी नेतृत्वलाई नेता कार्यकर्ताको सुझाव

हिमालय टिभी
२०७८ पुष १२ गते ६:५२
वर्गीय धरातलमा फर्कन माओवादी नेतृत्वलाई नेता कार्यकर्ताको सुझाव

१२ पुस २०७८ काठमाडौं । माओवादीका नेता तथा कार्यकर्ताले पार्टीलाई स्पष्ट कार्यदिशाका साथ रुपान्तरित पार्टी बनाउन नेतृत्वको ध्यानकर्षण गराएका छन् ।

क्रान्तिकारी विचार र आफनो वर्ग छाड्दा पार्टीले अनेकन खालका धक्का खाएको भन्दै नेता तथा कार्यकर्ताले नयाँ विचारधारासहितको रुपान्तरित माओवादी चाहेको बताएका छन् । वर्तमान वदलिँदो परिस्थिति सुहाउँदो कार्यनीति र कार्यदिशाको अभावमा पार्टी बेलाबेलामा चुक्ने गरेको विगतको स्मरण गर्दै प्रतिनिधिले नयाँ विचारका साथ मुलुकको नेतृत्व गर्ने गरी माओवादी पार्टीको नवीकरण आवश्यक भएको औँल्याए ।

महाधिवेशन प्रतिनिधि युवराज लामाले अब माओवादीले विगतका कमजोरीलाई समीक्षा गरेर रुपान्तरित हुँदै अघि बढ्नुपर्नै र त्यो दिशातर्फ उन्मुख भएको बताउनुहुन्छ । विसं २०७० अघि एक खालको माओवादी रहेको, त्यसपछि २०७५ सम्म अर्काे खालको र त्यसपछि अर्काे भूमिकामा पुगेको उल्लेख गर्दै लामाले यो उतारचढाव र उथलपुथलकाबीच माओवादी यहाँ आइपुगेको बताउनुभयो । पार्टीभित्र गम्भीर समीक्षामार्फत नयाँ सोचको विकास हुनुपर्ने आवश्यकतासमेत प्रतिनिधिले गरेका छन् ।

उहाँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सम्मेलनमा बोलेका अभिव्यक्तिले समग्र नेपाललाई नेतृत्व गर्ने गरी रुपान्तरणका साथ कार्यनीति अघि बढाउने कुरामा विश्वस्त हुनुहुन्छ । चितवनबाट महाधिवेशनमा सहभागी सुमन सापकोटा देशको अर्थतन्त्र बलियो बनाउने र रोजगारी सिर्जना गर्ने तथा जीविकोपार्जनका निमित्त सहज बनाउने रुणनीति कार्यदिशा लिनुपर्ने बताउहुन्छ । “आदर्श नीति र विधि भएन, महाधिवेशनले त्यसलाई निचोडमा पु¥याएर दिशाबोध गर्नुपर्छ”, सापकोटाले भन्नुभयो । अर्का प्रतिनिधि सङ्गीता भट्टराई समाजवादी क्रान्ति पूरा गर्ने गरी स्पष्ट खाका तय गर्नुपर्ने जिम्मेवारी अहिले पार्टी सामु रहेको र त्यो पूरा हुन्छ भन्ने विश्वास बढ्दै गएको बताउनुभयो ।

महाधिवेशनमा उत्साहका साथ नेता कार्यकर्ता सहभागी थिए । छोटो समयमा तयारी गरिएको महाधिवेशन भए पनि पूर्ण तयारी देखिएको थियो । यद्यपि हल सानो हुँदा चिसो मौसममा चौरमा बसेर प्रतिनिधि तथा शुभेच्छुकले स्क्रिनमार्फत उद्घाटन शत्र हेरेका थिए । त्यही माहोलमा हुनुहुन्थ्यो बाजुराका वृद्ध प्रतिनिधि सन्तबहादुर शाही । २२ वर्षदेखि माओवादीमा सक्रिय शाही माओवादी पार्टी खराब नभए पनि त्यहाँभित्रका नेता खराब भएको गुनासो गर्नुहुन्छ । उहाँले विगतमा पार्टीले राजनीतिक अवस्थाअनुसार अघि बढेको र कतिपय अवस्थामा कमीकमजोरी पनि भएको उल्लेख गर्दै अब पार्टीले मुलुकको राजनीतिक नेतृत्व गर्नुपर्ने सुझाव दिनुभयो । “दुई दुई पटक प्रचण्डै नेतृत्वमा सरकार बन्यो, एक पटक बाबुराम भट्टराईको नेतृत्वमा पार्टीले सकारको नेतृत्व ग¥यो, पटकपटक सरकारका सहभागि भइरहेको छ, अब ठुलो पार्टी बनेर नेतृत्व गर्न सके मुलुकले केही परिवर्तनको सास फेर्ने छ”, उहाँले बताउनुभयो ।

अवसरवादी नेता पार्टीभित्र भएकाले पार्टीले सही दिशा लिन नसकेको उहाँको निष्कर्ष छ । पार्टीलाई व्यक्तिले विगारे अब सच्याउनुपर्छ, यो महाधिवेशनले त्यही कुरा अघि बढाओस् र रुपान्तरण हुँदै जाओस् भनेर सम्मेलनमा भाग लिन आएको उहाँको भनाइ थियो । “पार्टीले मुलुकको भलाइ, जनताको जीवन सुरक्षा र अधिकारको रक्षा खालको नीति ल्याउनुपर्छ, सम्मेलनले ल्याउँछ भन्ने विश्वास छ”, उहाँले थप्नुभयो ।

रौतहटबाट १८ प्रतिनिधिसहित सहभागि भएर महाधिवेशन हेर्न आउनुभएका शहिद परिवारका सदस्य रामकिसुन महत्तो सर्वहारा, गरिब निमुखा जनताका लागि पार्टीले केही गर्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँले पूँजिपति वर्ग र ठेकेदारलाई स्थान दिने तर पुराना वास्तविक माओवादीलाई पाखा लगाउने प्रवृत्तिले माओवादी कमजोर भएको दुःख पोख्नुभयो ।

“बन्दुक बोक्ने बेलनमा हामी योग्य, अहिले चाहिँ हामी अयोग्य, यो कसरी हुनसक्छ”, पार्टीप्रति प्रश्न गर्दै उहाँले भन्नुभयो । अब युवालाई नेतृत्व दिन पनि उहाँले सुझाव दिनुभयो । आलो पालो काम गर्ने भनेर एमालेसँग एकता भए पनि पार्टीले सही निर्णय लिन नसक्दा विचलन आएको पनि उहाँको धारणा थियो ।

कास्कीकी प्रतिनिधि तेजकुमारीले मुलतः महाधिवेशमा विचारको विकास गर्दै नयाँ कार्यदिशा दिने विश्वास व्यक्त गर्नुभयो । समाजवादी यात्रामा समृद्धिको मात्रै कुरा नभई नेपाली जनताको आजको आवश्यता अनुसारको विकास जरुरी रहेको बताउनुभयो । उहाँले शान्ति प्रक्रिाय कसरी अघि बढाउने, माओवादी आन्दोलनलाई बदलिँदै परिस्थितिअनुसार कसरी लैजाने भन्ने विाषयमा छलफलको आवश्यकता रहेको औँल्याउनुभयो । जुन विचारको आधारमा पार्टी एकता गर्दाको कार्यदिशामा त्रुटी भयो, हामीले भनेको त्यही समाजवाद थियो की फरक थियो भनेर महाधिवेशनमा बहस चल्नुपर्ने र चल्ने बताउनुभयो ।

उहाँले संविधानले व्यवस्था गरेको स्वास्थ्य, शिक्षा रोजगार, समावेशी प्रतिनिधित्वको विषयलाई ध्यान दिनुपर्छ । त्यसलाई कार्यान्वयनमा जाने गरी अघि बढ्नुपर्न । उहाँले निर्वाचन प्रणाली, कार्यकारी राष्ट्रपतिको सवाल थाती छ, सामाजिक न्यायका सवालका विषयमा एउटा नीतिको आवश्यकता औँल्याउनुभयो ।

महाधिवेशनमा सहभागी हुनआएका सात प्रदेश र तीन गैरभौगोलिक प्रदेशका प्रतिनिधिले वर्गीय धरातलमा फर्कन र आफ्नो वर्गको पक्षमा उभिन पार्टी नेतृत्वलाई सचेत गराएका छन् । उनीहरूले स्पष्ट विचार र कार्ययोजनाका साथ अगाडि बढे माओवादी २०६४ सालको अवस्थामा फर्कने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्