सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टोलीको लगातार तेस्रो जित
१० पुस २०७८ काठमाडौं । बंगलादेशमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला भलिबल च्यालेञ्च कपमा महिलातर्फ नेपालले अपराजित यात्रा कायमै राखेको छ ।
प्रतियोगिताअन्तर्गत ढाकामा आज आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो । नेपालले बंगलादेशलाई २५–५, २५–१५ र २५–१७ को सेटमा पराजित गरेको हो ।
जितसँगै ३ खेलमा ८ अंक जोड्दै नेपाल शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेश अंकविहीन छ । अब नेपालले भोलि उज्वेकिस्तानको सामना गर्नेछ । पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–२ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो ।
यस्तै पुरुषतर्फ नेपालले तेस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित नेपालले दोस्रो खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो । खेल साँझ पौने ६ बजे शुरु हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता छ । पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् ।
महिलामा आयोजक बंगलादेशसँगै नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त खेल हुनेछ । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि खेल्नेछन् ।
प्रतिक्रिया