खेलकूद

सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

हिमालय टिभी
२०७८ पुष ९ गते १३:३६
सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

९ पुस २०७८ काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराएको हो । एकपक्षीय जस्तै बनेको खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई २५–११, २५–९, २५–५ सेटमा हरायो । दुई जितपछि नेपाल ५ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा छ ।

नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३–२ को सेटमा जित हात पारेको थियो । ६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लीगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।

यस्तै पुरुष टोलीले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल साँझ पौने ६ बजे शुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सेटमा पराजित भएको थियो।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्